काठमाडौं उपत्यकामा हैजा पुष्टि भएकामध्ये ८ जना निको भएका छन् । केही दिनयता काठमाडौंका विभिन्न स्थानमा हैजाका बिरामी देखिएका छन् । स्वास्थ्य सेवा विभागका अनुसार संक्रमित १२ मध्ये ८ जना निको भएर घर फर्केका हुन् । अन्य चार जनाको भने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल), पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र बयोधा अस्पतालमा उपचार भइरहेको छ ।
गत असार ५ गते राजधानीको बागबजारमा यसवर्ष पहिलो पटक काठमाडौंमा हैजाको बिरामी पुष्टि भएको थियो ।
उपत्यकाको खानेपानी प्रदूषित भएको कारणले हैजा देखिएको पाइएको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा हैजा रोगबारे गरिएको छलफलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले खानेपानी प्रदूषित भएकाले हैजा देखिएको बताए ।
महाशाखाले हैजा देखिएको ठाउँ बागबजार, डिल्लीबजार र सानेपामा रहेका पानी परीक्षण गरेको थियो । उनले धारापानी, जार, टु्यूवेल, बोरिङको पानी परीक्षण गर्दा प्रदूषित पाइएको बताए । उनका अनुसार वागबजारको खानेपानी प्रदूषित रहेको छ । यस्तै सानेपामा परीक्षणका क्रममा ६२ प्रतिशत प्रदूषित भेटिएको उनले जानकारी दिए ।
प्रतिक्रिया