काठमाडौं । निरन्तर पाँचौ दिन पनि बजार ओरालो लागेको छ । साताको सुरुवात मै बजार भारी अंकले घटेको हो । गत साता चार कारोबारको दिन राताम्य भएको बजारले यो साताको सुरुवात मै सोहि निरन्तरता दिएको हो ।
गत आइतबार मौद्रिक नीति आउनुअघि बजार एकै दिन ६३ अंक बढेको थियो । सेयर धितोमा प्रवाह हुने मार्जिन कर्जालाई सहजिकरण हुने आशामा लगानीकर्ताले सेयरको माग बढाएका थिए । तर बजार बन्द भएपछि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिमा भएका केही व्यवस्थाको थप ब्याख्या गरेर भावि निर्देशनबारे पूर्व जानकारी गराए । उनले २५ लाखसम्मको सेयर कर्जामा १०० प्रतिशतमात्रै जोखिम भार राख्नुपर्ने पुरानो व्यवस्थालाई ५० लाखसम्मको सीमामा विस्तार गर्न खोजिएको बताए । यसले करोडौं, अर्बैं लगानी गर्ने ठूला लगानीकर्ता बेखुस भए र बजार ओरालो लाग्न थाल्यो ।
मौद्रिक नीतिले सेयर कर्जाको जोखिमभार घटाउने र ‘लोन टु भ्याल्यू रेसियो’ पनि खुकुलो पार्ने अपेक्षा धेरैले गरेका थिए । तर त्यसो भएन र राष्ट्र बैंकले ५० लाखसम्मको सेयर कर्जाका लागिमात्रै जोखिमभार घटाउने भन्यो र ‘लोन टु भ्याल्यू रेसियो’ पनि स्थिर राख्यो । फलस्वरुप बजार निरन्तर ओरालो लागि रहेको छ ।
आइतबार परिसूचकमा निकै उतापचडाप भएको छ । परिसूचक बन्द हुने बेलासम्म २१००.३४ बिन्दुमा आइपुगेको छ । बजार आज २६.१४ अकंले घटेको हो ।
कारोबार रकम समेत खुम्चिदैं आएको छ । आज २६६ कम्पनीको ६८ लाख ६० हजार ४२ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ५० करोड २८ लाख ८६ हजार रुपैयाँको कारोबार भएको छ ।
आइतबार १२ उपसूचक राताम्य भएका छन् । आज म्युचुअल फण्ड समूहको सेयर मूल्य मात्र ०.३२ प्रतिशतले बढेको छ । बैंकिङ समूहको ०.६१ प्रतिशत, विकास बैंक समूहको १.४८ प्रतिशत र फाइनान्स समूहको २.३२ प्रतिशतले सेयर मूल्य घटेको छ ।
प्रतिक्रिया