काठमाडौं : नेपालले अमेरिकाविरुद्धको टी–२० आई सिरिज एक खेल अगावै जितेको छ।
दोस्रो टी- २० अन्तर्राष्ट्रिय खेलको ‘सुपर ओभर’मा घरेलु टोली अमेरिकालाई हराउँदै नेपालले ती खेलको शृंखला एकअघि अगावै जितेको हो। निर्धारित २० ओभरको खेलमा दुबै टोलीले १७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो।
सुपर ओभरमा पहिला ब्याटिङ गरेको अमेरिकाले तीन रनको लक्ष्य दियो। सोमपाल कामीले तेस्रो बलमै सायन जहान्गिरको विकेट लिँदै अमेरिकालाई दबाबमा राखेका थिए। चौथो बलमा उनले आरोन जोनेसको विकेट लिएपछि नेपालले जम्मा ३ रनको लक्ष्य पायो।
जवाफमा नेपालको लागि क्रिजमा कप्तान रोहितकुमार पौडेल र आरिफ शेख आएका थिए। उनीहरुले तीन बलमा लक्ष्य पूरा गरे।
आज बिहान अमेरिकाको डालासमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ६ विकेट गुमाउँदै १७१ रनको लक्ष्य दिएको थियो। प्रत्युत्तरमा अमेरिकाले पूरा २० ओभर खेल्दा ७ विकेट गुमाएर १७० रन नै बनाएपछि खेल सुपर ओभरमा पुगेको हो।
अमेरिकाको लागि आन्द्रेस गौसले ४३ बलमा तीन चौका र चार छक्कासहित सर्वाधिक ६२ रन बनाए। ओपनर साइटेजा मुक्कामल्लले ४१ बलमा ४७ रनको योगदान गरेका थिए। दुई खेलाडीबीच शतकीय साझेदारी भएको थियो।
नेपालका करण केसीले सर्वाधिक तीन विकेट हात पारे। सोमपाल कामीको नाममा दुई तथा सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिएका थिए।
नेपालका टस जितेर ब्याटिङ गरेको नेपालको लागि तेस्रो नम्बर क्रिजमा आएका कुशल भुर्तेलले ५४ बलमा ७ चौका र ६ छक्कासहित सर्वाधिक ९२ रन बनाए।
ओपनर अनिल कुमार शाहले २५ तथा गुल्शन झाले १७ र कप्तान रोहितकुमार पौडेलले १८ रनको योगदान गरे।
अमेरिकाका जसदीप सिंह र नोस्थुस केन्जिगेले समान दुई विकेट लिए। सौरभ नेत्राभाल्करले एक विकेट हात पारे।
यसअघि पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले हराएको थियो। अब, तेस्रो खेल सोमबार बिहान हुनेछ ।
प्रतिक्रिया