काठमाडौँ– तिहारको पाँचौँ दिन आइतबार भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै सप्तरंगी टीका लगाएर मनाइँदै छ।
कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दै छन्। यस दिनलाई यमद्वितीया पनि भनिन्छ। आफूले लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने चलन छ। दिदीबहिनीलाई पूजा गर्नाले सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक विकास समितिका सदस्य प्राडा देवमणि भट्टराईले जानकारी दिए।
भाइटीकाको टीका दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः३७ बजेको साइत उत्तम रहेको समितिले जनाएको छ। यसवर्ष भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्किनुपर्ने समितिले जनाएको छ। यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए। शुभ कर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ ।
लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवता, नवग्रहको समेत पूजाआराधना गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर सप्तरंगी वा पञ्चरंगी टीका, मखमली, सयपत्री वा गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ।
टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ।
दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ। बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिन मात्र खुल्ने गर्छ। दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्छन्।
यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी एवं दाजुभाइ नहुनेले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन छ। २०३५ सालपछि नियमित रूपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो।
भाइटीकाको दिनलाई नेवार समुदायले किजापूजाका रूपमा मनाउँछन्। नेवार समुदायका केहीले भने शनिबार नै किजापूजा गरेको जनाइएको छ।
प्रतिक्रिया