Pura Samachar

पाकिस्तानसँगको तीन खेलको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अस्ट्रेलियालकाे क्लिन स्विप

प्रकाशित: मंसिर ४, २०८१

पाकिस्तानसँगको तीन खेलको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अस्ट्रेलियालकाे क्लिन स्विप

एजेन्सी । पाकिस्तानसँगको तीन खेलको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अस्ट्रेलियाले क्लिन स्विप गरेको छ । सोमबार भएको तेस्रो खेलमा सात विकेटको जित निकाल्दै अस्ट्रेलियाले सिरिज तीन-शून्यले जितेको हो ।

पाकिस्तानले दिएको ११८ रनको लक्ष्य अस्ट्रेलियाले ११.२ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो । अस्ट्रेलियाका मार्कस स्टोइनिसले २७ बलमा पाँच चौका र पाँच छक्कासहित ६१ रनको अविजित पारी खेल्नुभयो । त्यस्तै, जोस इङ्लिसले २७ रन बनाउनुभयो भने जेक फ्रेसर-मेगर्कले १८ रन बनाउनुभयो ।

पाकिस्तानका लागि अब्बास अफ्रिदी, शाहीन अफ्रिदी र जहानदाद खानले एक-एक विकेट लिनुभयो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १८.१ ओभरमा अलआउट हुँदै ११७ रन बनाएको थियो । बाबर आजमले सर्वाधिक ४१ रन बनाउनुभयो भने हासिबुल्लाह खानले २४ रन बनाउनुभयो ।

अस्ट्रेलियाका आरोन हार्डीले चार ओभरमा २१ रन दिएर तीन विकेट लिनुभयो । स्पेन्सर जोनसोन र एडम जाम्पाले दुई-दुई विकेट लिनुभयो भने जेभियर बार्टलेट र नेथन एलिसले एक-एक विकेट लिनुभयो ।

पहिलो खेलमा २९ रनको जित निकालेको अस्ट्रेलियाले दोस्रो खेलमा १३ रनको जित निकालेको थियो । त्यसअघि भएको एकदिवसीय शृंखलामा पाकिस्तान दुई-एकले विजयी भएको थियो ।

प्रतिक्रिया