उर्लाबारी : पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको उर्लाबारी –३ मा बिहीबार अपरान्ह दुईवटा मोटरसाइकल एकापसमा जुध्दा तीन जनाको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–०५० प ८४०६ नम्बरको मोटरसाइकल पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४३ प ९२२६ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किदा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा मोरङको पथरीशनिश्चरे नगरपालिका –५ का ३३ वर्षीय दीपक धिमाल, कानेपोखरी गाउँपालिका –४ धम्कुवाका २८ वर्षीय किशोर गुरुङ र बेलबारी नगरपालिका –८ का २६ वर्षीय अमित लिम्बू रहेका छन्।
धिमालको अरनिको अस्पताल उर्लाबारीमा गुरुङको मदन भण्डारी अस्पताल एवम ट्रमा सेन्टर मङ्गलबारेमा र अमृतको विएण्डसी अस्पताल विर्तामोडमा मृत्यु भएको हो।
दुर्घटनामा परी एक जना गम्भीर घाइते भएका छन्। मोरङ पथरीशनिश्चरे –५ का ३८ वर्षीय विष्णु धिमाल घाइते भएको प्रहरीले जनाएको छ। प्रहरी निरीक्षक राकेश यादवका अनुसार प्रदेश १–०२–०५० प ८४०६ नम्बरको मोटरसाइकल कसले चलाएको भन्ने खुलेको छैन्।
पथरीशनिश्चरे –५ का वडाध्यक्ष चेतेन्द्र खड्काले दीपक र विष्णु नातेदार भएको बताए। यस्तै, कानेपोखरीका गुरुङ र लिम्बू सवार प्रदेश १–०२–०४३ प ९२२६ नम्बरको मोटरसाइकल पनि कसले चलाएको खुलेको छैन्।
उर्लाबारीबाट थप उपचारका लागि झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पताल लगिएका विष्णुको अवस्था समेत चिन्ताजनक रहेको छ। दुर्घटनामा परेर दुवै मोटरसाइकल क्षतिग्रस्त भएको छ।
प्रतिक्रिया