Pura Samachar

प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमणका लागि आज बिहान चीनको बेइजिङ प्रस्थान गर्ने

प्रकाशित: मंसिर १७, २०८१

प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमणका लागि आज बिहान चीनको बेइजिङ प्रस्थान गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि आज बिहान चीनको बेइजिङ प्रस्थान गर्ने भएका छन्।

चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उनले आजदेखि २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्न लागेका हुन्।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसैगरी प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय आपसीहितका विविध विषयमा विचार आदानप्रदान गर्नेछन्। प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीको समेत भेट हुने तालिका रहेको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको छ।

त्यस्तै उनले बेइजिङस्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम छ।

प्रतिक्रिया