काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायर १ खेल बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुँदैछ, जहाँ सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स बीचको भिडन्तले फाइनलको यात्रा सुनिश्चित गर्नेछ।
यो खेल जित्ने टोलीले सिधै फाइनलमा स्थान सुरक्षित गर्नेछ भने पराजित टोलीले दोस्रो क्वालिफायर मार्फत अन्तिम अवसर पाउनेछ। लिग चरणमा सुदूरपश्चिमले सातमध्ये ६ खेलमा जित र एक हारसँगै १२ अंक जोड्दै शीर्ष स्थान हासिल गरेर क्वालिफायर १ मा स्थान बनाएको हो। जनकपुरले भने पाँच जित र दुई हारको नतिजासहित १० अंक जोड्दै दोस्रो स्थानमा रह्यो।
समूह चरणमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले हराएको थियो। बुधबार सुदूरपश्चिमले आफ्नो वर्चस्व कायम राख्ने लक्ष्य राखेको छ भने जनकपुरले बदला लिने दाउमा छ। जनकपुरलाई कप्तान अनिलकुमार साहको अनुपस्थितिले ठूलो झट्का लागेको छ। चोटका कारण उनले बाँकी खेल गुमाउने भएकाले कप्तानीको जिम्मेवारी आसिफ शेखले सम्हाल्नेछन्।
प्रतिक्रिया