Pura Samachar

स्पेनिस ला लिगामा रियल मड्रिडकाे सहज जित

प्रकाशित: माघ ८, २०८१

स्पेनिस ला लिगामा रियल मड्रिडकाे सहज जित

मड्रिड । स्पेनिस ला लिगामा रियल मड्रिडले सहज जित हासिल गरेको छ । आइतबार राती भएको खेलमा केलियन एमबाप्पेको दुई गोलको मद्दतमा रियलले १० खेलाडीमा सीमित लास पाल्मासलाई ४-१ ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउन एमबाप्पेबाहेक ब्राहिम डियाज र रोड्रिगोले गोल गर्नुभयो ।

एमबाप्पेले रियलबाट आफ्नो पहिलो सिजनमा केही खेलमा संघर्ष गर्नुपरेको थियो । तर, अब पछिल्ला चार खेलमा उहाँले चार गोल गर्नुभएको छ । लिगको शीर्ष स्थानमा पुगेको रियलले दोस्रो हाफमा अग्रता लिएको थियो ।

खेलको पहिलो मिनेटमै फाबियो सिल्भाले पाल्मसलाई सुरुवाती अग्रता दिलाउनुभएको थियो । तर, विपक्षी डिफेन्डरले रोड्रिगोलाई फाउल गरेपछि एमबाप्पेले १८औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याउनुभयो । खेलको ३३औँ मिनेटमा डियाजले गोल गर्दै रियलको अग्रता दोब्बर बनाउनुभयो । त्यसको ३ मिनेटपछि एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्नुभयो । रोड्रिगोले ५७औँ मिनेटमा अर्को गोल थप्नुभयो ।

जितसँगै २० खेलमा ४६ अंक जोडेको रियल शीर्ष स्थानमा उक्लिएको छ । समान खेलमा ४४ अंक जोडेको एट्लेटिको दोस्रो स्थानमा छ । समान खेलमा ३९ अंकका साथ बार्सिलोना तेस्रो स्थानमा छ ।

शनिबार लेगानेससँग १-० ले पराजित भएपछि एट्लेटिकोले १५ खेलको जितको कीर्तिमानी यात्रा टुंग्याएको थियो । एट्लेटिको रियलभन्दा दुई अंकले पछि परेको छ । जनवरी १२ मा साउदी अरबमा भएको स्पेनिस सुपर कपको फाइनलमा बार्सिलोनासँग ५-२ को लज्जास्पद हार बेहोरेको रियलको लिगमा यो लगातार दोस्रो जित हो । एजेन्सी ।
◾ थप सामग्री : https://ehimalayatimes.com/2025/01/302675/

प्रतिक्रिया