लण्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड ब्राइटनसँग पराजित भएको छ । आइतबार राती भएको खेलमा युनाइटेड ब्राइटनसँग घरमै ३-१ गोलले पराजित भएको हो ।
वर्ल्ड ट्राफोर्डमा भएको खेलको पाँचौं मिनेटमै यान्कुबा मिन्तेहले युनाइटेडविरूद्ध गोल गर्नुभयो । २३ मिनेटमा पेनाल्टीमार्फत् बु्रनो फर्नान्डिजले बराबरी गोल फर्काउनुभएको थियो । ६० मिनेटमा काउरू मिटोमाले गोल गरी ब्राइटनलाई अग्रता दिलाउनुभएको थियो ।
७६ मिनेटमा पुनः ब्राइटनकै जर्जिनिओ रूटरले गरेको गोल निर्णायक बनेपछि युनाइटेड घरमै स्तब्ध भएको हो । जितसँगै ब्राइटन ३४ अंक बनाएर तालिकाको नवौं स्थानमा उक्लिएको छ । म्यानचेस्टर युनाइटेड २६ अंकका साथ १३औँ स्थानमा छ ।
प्रिमियर लिगअन्तर्गत अर्को खेलमा म्यानचेस्टर सिटीले इपस्विच टाउनको पोस्टमा गोल वर्षा गरेको छ । सिटी इपस्विचको मैदानमा ६-० गोलअन्तरले विजयी भएको हो । सिटीको जितमा पाँचजनाले गोल गरे । फिल फोडेनले २७औँ र ४२औँ मिनेटमा गोल गर्नुभयो भने कोभासिसले ३०, डोकुले ४९, हाल्याण्डले ५७ र जेम्स म्याकेटीले ६९औँ मिनेटमा गोल गर्नुभयो । जितसँगै सिटी चौथो स्थानमा पनि उक्लिएको छ । सिटीले ३८ अंक बनाएको छ ।
त्यस्तै, अर्को खेलमा टोटनहम एभर्टनसँग ३-२ गोलअन्तरले पराजित भएको छ भने नटिंघम फरेस्टले साउथहृयाम्प्टनलाई पराजित गर्यो । एजेन्सी ।
◾ थप सामग्री : https://ehimalayatimes.com/2025/01/302672/
प्रतिक्रिया