Pura Samachar

कोसी, वाग्मती र कर्णालीका पहाडी भूभामा मेघगर्जनसहित वर्षाको सम्भावना

प्रकाशित: फाल्गुन १२, २०८१

कोसी, वाग्मती र कर्णालीका पहाडी भूभामा मेघगर्जनसहित वर्षाको सम्भावना

 

काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । पश्चिमभन्दा पूर्वी नेपालमा वर्षाको सम्भावना रहेको छ ।

“कोसी, वाग्मती र कर्णालीका पहाडी भूभामा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ,” मौसमविद् सञ्जिव अधिकारीले  भने, “पश्चिम नेपालका सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागका एकदुई ठाउँमा पनि वर्षाको सम्भावना छ ।”

पश्चिममा भन्दा पूर्वी नेपालमा धेरै वर्षाको सम्भावना रहेको उनले जानकारी दिए ।

काठमाडौंमा पनि वर्षा गराउने बादल लाग्ने तर वर्षाको सम्भावना भने न्यून रहेको मौसमविद् अधिकारीको भनाइ छ । “काठमाडौंमा अपराह्नपछि एकदुई स्थानमा छिटपुट वर्षा हुनसक्छ । तर, यसको सम्भावना निकै न्यून छ,” उनले भने ।

काठमाडौंमा बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस रहेको छ ।

बिहान कोसी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । तराईका केही स्थानहरुमा हुस्सु लागेको छ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ ।

प्रतिक्रिया