Pura Samachar

भारत र न्युजिल्याण्ड अन्तिम चारमा

प्रकाशित: फाल्गुन १३, २०८१

भारत र न्युजिल्याण्ड अन्तिम चारमा

एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ ।

बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ।

समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ ।

२ सय ३७ रनको लक्ष्य न्युजिल्याण्डले ४६.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । न्युजिल्याण्डको जितमा रचिनले सर्वाधिक १ सय १२ रन जोडे । उनले १ सय ५ बलको सामनामा १२ चौका र १ छक्का प्रहार गरे । ओडिआई करियरको चौथो शतक उनले ९५ बलमा पूरा गरे ।

चौथो विकेटका लागि रचिन र टम लाथमले १ सय २९ रनको साझेदारी गरे । लाथमले ७६ बलमा ३ चौकाको सहयोगमा ५५ रन जोडे ।

अघिल्लो खेलमा शतक प्रहार गरेका विल योङले रनको खाता खोल्न सकेनन् । डेभोन कन्वे ४५ बलमा ३० तथा ग्लेन फिलिप्स २१ रनमा नट आउट रहे ।

बंगलादेशका लागि रिषद होसैन, नहिद राना, मुस्ताफिजुर रहमान र तस्किन अहमदले समान १ विकेट लिए ।

त्यसअघि पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनाएको थियो ।

बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान नजमुल हसन शान्तोले सर्वाधिक ७७ रन जोडे । उनले १ सय १० बलमा ९ चौका प्रहार गरे। जाकिर अलि ५५ बलमा ४५ तथा रिशाद होसनैन २६ रन बनाए ।

ओपनर तान्जिद हसन २४ तथा तस्किन अहमद १० रनमा आउट भए । न्युजिल्याण्डका लागि माइकल ब्रेसवेलले ४, विल ओरोकले २ तथा कायल जेमिन्सन र म्याट हेनरीले समान १ विकेट लिए ।

जितसँगै न्युजिल्याण्ड दुई खेलमा अपराजित रहँदै समूह ए को शीर्ष स्थानमा छ । बंगलादेश दुई खेलमा अंकविहिन छ । न्युजिल्याण्डले पहिलो खेलमा आयोजक पाकिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको थियो ।

प्रतियोगितामा मंगलवार अस्ट्रेलिया र दक्षिण अफ्रिका खेल्दैछन्

प्रतिक्रिया