काठमाडौं। राफिन्हा चम्किँदा दबाबमा रहेको पाँचपल्टको विश्व विजेता ब्राजिल दक्षिण अमेरिकी विश्वकप छनोटमा कोलम्बियाविरुद्ध कठिन जित हात पारेको छ।
शुक्रबार बिहान सम्पन्न खेलमा ब्राजिल २–१ ले विजयी भएको हो। जारी छनोटमा ब्राजिलको यो छैटौं जित हो। यद्यपि, ब्राजिलले विश्वकपमा छनोटमा हुन केही समय अझै कुर्नुपर्ने छ।
१३ खेलबाट ६ जित, तीन बराबरी र चार हारको नतिजा निकालेको ब्राजिल २१ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ। समान खेल खेलेको कोलम्बिया पाँच जित, चार बराबरी र तीन हारसहित १९ अंक बटुल्दै छैटौं स्थानमा झरेको छ।
ब्राजिलले राफिन्हाको गोलमार्फत खेलको छैटौं मिनेटमै सुरुआती अग्रता लिएको थियो। तर, पेनाल्टी गोलमार्फत लिएको उक्त अग्रता ब्राजिलले जोगाउन सकेन।
४१औं मिनेटमा जेम्स रोड्रिगेजले उपलब्ध गराइदिएको पासमा लुइस डियाजले गोल गर्दै कोलम्बियालाई खेलमा फर्काए।
यद्यपि, दोस्रो हाफको इन्जुरी समयको नवौं मिनेटमा राफिन्हाको उत्कृष्ट क्रसमा भिनिसियस जुनियरले गोल गर्दै ब्राजिललाई २–१ को जित दिलाए।
प्रतिक्रिया