काठमाडौं। विश्व फुटबलमा सिंगापुर नेपालभन्दा बलियो नै मानिन्छ। फिफा विश्व वरीयताले मात्रै होइन, विगतको नतिजाले पनि यही भन्छ।
यसअघि खेलिएका तीन खेलमा नेपालले जित निकाल्नु त पर कै कुरा गोलसम्म गर्न सकेको थिएन। तर, चौथो भेटमा भने यी दुबै कुरा सम्भव भयो। यसको श्रेय भने २६ वर्षीय फरवार्ड जेलेस्पीजंघ कार्कीलाई कुनै हिचकिचाहटपूर्ण जान्छ।
उनकै निर्णायक गोलमा त हो नेपालले ३६ वर्षपछि सिंगापुरलाई पराजित गरेको। त्यो पनि उसैको मैदानमा। ‘सिंगापुरसँग जित्ने मेन्टालिटी लिएर खेलेका थियौं। प्रशिक्षणमा पनि यही मेन्टालिटी थियो। तर, मेरो गोलभन्दा पनि टिमवोर्क राम्रो भएर जित निस्किएको हो,’ उनले खेलपछि खुसी व्यक्त गर्दै भने।
नेपाल र सिंगापुर सन् १९८९ पछि आमुन्नेसामुन्ने भएका हुन्। ५ जुन १९८९ मा भएको पछिल्लो भेटमा सिंगापुरले नेपाललाई ७–० को नमिठो हार चखाएको थियो।
त्यसअघि भएका दुई भेट (१९८२ र १९८९) मा भने नेपालले यति ठूलो हार बेहोरेको थिएन। त्यो हार (२–० र ३–०) भनेको एक हिसाबले चित्त बुझाउनलायक नै थियो।
तर, यसपल्ट भने फिफा वरीयतामा आफूभन्दा १५ स्थान (१६०औं) रहेको सिंगापुरलाई नेपालले बदला लिन १२औं मिनेटमै जेलेस्पीले गरेको गोल नै काफी रह्यो।
उनले मनीष डाँगीले उपलब्ध गराइदिएको पासमा गोल गर्दै ऐतिहासिक जित दिलाएका हुन्। ८ सेप्टेम्बर २०२३ मा म्यानमारविरुद्धको मैत्रीपूर्ण खेलमा डेब्यु गरेका जेलेस्पीले १२ अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्। यो भने उनको तेस्रो अन्तर्राष्ट्रिय गोल हो।
टुसाल क्लबबाट सहिद स्मारक ‘बी’ डिभिजन लिग खेल्दै विभागीय टोली त्रिभुवन आर्मी क्लबमा उक्लिएका उनी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका संकटमोचक बन्दै आएका छन्। अझ ‘ब्याक टु ब्याक’ ऐतिहासिक जित दिलाउन त उनी पछिल्लो समय निर्णायक नै बनेका छन्।
यसअघि ११ जुन २०२४ मा साउदी अरबमा भएको विश्वकप छनोट २०२६ तथा एएफसी एसियन कप छनोट २०२७ अन्तर्गत यमनविरुद्ध पनि उनले नै गोल गरेका थिए। उक्त खेलमा अग्रता जोगाउन नसक्दा नेपाल २–२ को बराबरीमा रोकिएको थियो।
त्यसपछि अफगानिस्तानविरुद्धको २–१ को ऐतिहासिक जितमा पनि उनले नै सुरुआती गोल गरे। ताजिकिस्तानमा भएको उक्त मैत्रीपूर्ण खेलमा नेपालले १३ वर्षपछि अफगानिस्तानलाई पराजित गरेको थियो। यो खेलपश्चात् नेपाल पहिलोपल्ट सिंगापुरविरुद्ध मैदान उत्रिएको हो।
‘हामी जित्ने मेन्टालिटीका साथ प्रशिक्षण गर्छौं। जब विपक्षीविरुद्ध मैदान उत्रिन्छौं त्यहाँ त यो कुरा हुने भइहाल्यो,’ उनी सुनाउँछन्। नेपालले सिंगापुरसँग एएफसी एसियन कप छनोट २०२७ को तेस्रो चरणको तयारीस्वरूप यो मैत्रीपूर्ण खेल खेलेको हो।
लिग र कुनै अन्तर्राष्ट्रिय प्रतियोगिताबिना दुई हप्ताको तयारी गरेर सिंगापुर पुगेको नेपालको लक्ष्य मलेसियाविरुद्धको खेलअघि टोलीमा देखिएको कमिकजोरी पहिचहान र समाधान गर्ने हो। अब नेपालले मार्च २५ मा घरेलु टोली मलेसियासँग प्रतिस्पर्धा गर्ने तय छ। सिंगापुरसँग निस्किएको यो ऐतिहासिक नतिजाले नेपाली टोलीमा आत्मविश्वास थपिएको छ।
त्यसैले फिफा विश्व वरीयतामा ४३औं स्थानमाथि रहेको मलेसियाविरुद्ध पनि यही जोसका साथ खेल्ने जेलेस्पी बताउँछन्। ‘यही इफोर्ट र टिमवोर्क कायम रहन्छ। हामी यही जोसका साथ मलेसियाविरुद्ध मैदान उत्रिने छौं। आशा छ हामीले राम्रो प्रदर्शन गरेर जित निकाल्छौं,’ उनले भने।
प्रतिक्रिया