काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज भैरहवा लगिँदै छ। शुक्रबार साँझ पक्राउ गरी भद्रकालीस्थित काठमाडौँ प्रहरी परिसरमा राखिएका उनलाई विमानमार्फत भैरहवा लगिन लागिएको हो।
शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएसँगै प्रहरीले उनलाई शुक्रबार बूढानीलकण्ठस्थित निवासबाट पक्राउ गरेको थियो । न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले सो आदेश गरेका हुन् ।
यही मुद्दामा रूपन्देही जिल्ला अदालतले एक करोड धरौटीमा रिहा हुने आदेश गरेको थियो। उच्च अदालतले उक्त मुद्दा बदर गर्दै रविलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको हो।
बुटवलको सुप्रिम सहकारी प्रकरणमा रुपन्देही जिल्ला अदालतले १ करोड धरौटी रकम मागेको आदेशमा चित्त नबुझाएर लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए । आज र भोलि सार्वजनिक बिदा परेकाले उनलाई मंगलबार मात्र रुपन्देही जिल्ला अदालतमा उपस्थित गराइने भएको छ ।
प्रतिक्रिया