एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज दुई खेल हुँदैछ ।
पहिलो खेल दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्सबीच हुँदैछ । चेन्नईको घरेलु मैदान एमए चिदम्बरममा दुई टोलीबीचको खेल नेपाली समय अनुसार शनिवार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।
दिल्ली लगातार तेस्रो जितको लक्ष्यमा रहेको छ । पहिलो खेलमा लखनउ सुपर जायन्ट्सलाई पराजित गरेको दिल्लीले दोस्रो खेलमा सनराइजर्स हैदराबादलाई हराएको थियो ।
दिल्लीले २ खेलमा ४ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । उता, चौथो खेल खेल्दै गरेको ५ पटकको च्याम्पियन चेन्नई भने दोस्रो जितको खोजीमा रहेको छ । चेन्नईले सिजनको पहिलो खेलमा मुम्बई इण्डियन्सलाई पराजित गरेको थियो ।
त्यसपछिका दुई खेलमा भने चेन्नई पराजित भएको थियो । दोस्रो खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुसँग र तेस्रो खेलमा राजस्थान रोयल्ससँग चेन्नई पराजित भएको थियो । ३ खेलमा २ अंकका साथ चेन्नई तालिकाको आठौं स्थानमा छ ।
चेन्नईका लागि राहुल त्रिपाठी शीर्ष स्थानमा संघर्ष गरिरहेका छन् । गुवाहटीमा दीपक हुड्डाको स्थानमा टिममा आएका विजय शंकरको पनि ब्याट पनि खासै चलेन ।
चेन्नईका लागि यस खेलमा नियमित कप्तान ऋतुराज गायकवाड उपलब्ध नहुने सम्भावना छ । गायवाडको अनुपस्थितीमा महेन्द्रसिंह धोनीले चेन्नईको कप्तानी गर्ने सम्भावना छ । गायकवाडले यस खेल नखेलेमा डेभोन कन्वेले मौका पाउने सम्भावना छ । कन्वेले रचिन रविन्द्रसँग ओपनिग गर्ने छन् ।
आफ्नो जितको लयलाई निरन्तरता दिन दिल्ली उही सुरुवाती ११ का साथ मैदान उत्रने सम्भावना छ । दिल्ली र चेन्नई हालसम्म आइपिएलमा ३० पटक आमने सामने भएका छन् । जसमा १९ खेलमा चेन्नई विजयी हुँदा ११ खेल दिल्लीले जितेको छ ।
आजै हुने दोस्रो खेलमा राजस्थान रोयल्स र पञ्जाब किंग्स आमनेसामने हुदैछन् ।
दुईबीचको खेल पञ्जाबको घरेलु मैदान महाराजा युद्धवीर सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम मुल्नपुर पञ्जाबमा नेपाली समय अनुसार शनिवार बेलुका ७ः४५ बजे सुरु हुनेछ । तेस्रो खेल खेल्दै गरेको घरेलु टोली पञ्जाब आफ्नो अपराजित यात्रा यथावत राख्ने लक्ष्यमा छ ।
पञ्जाबले यसअघि गुजरात टाइटन्स तथा लखनउ सुपर जायन्ट्सलाई उनीहरुकै घरमा पराजित गरेको थियो । पञ्जाब २ खेलमा ४ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ ।
राजस्थान भने सुरुवाती दुई खेलमा पराजित भएको थियो । भने, पछिल्लो खेलमा चेन्नईलाई पराजित गरेको थियो । राजस्थान पहिलो खेलमा सनराइजर्स हैदराबाद र दोस्रो खेलमा कोलकाता नाइटराइडर्ससँग पराजित भएको थियो ।
राजस्थान ३ खेलमा २ अंकका साथ तालिकामा पुछारबाट दोस्रो स्थानमा छ । राजस्थान यस खेलमा सञ्जु स्यामसन कप्तानका रुपमा टोलीमा फर्कने सम्भावना छ । अघिल्ला तीन खेलमा स्यामसन ब्याटरका रुपमा मात्र खेलेका थिए ।
अघिल्ला तीन खेलमा राजस्थानको कप्तानी रियान परागले गरेका थिए ।
आइपिएलमा दुवै टोली हालसम्म २८ पटक आमने सामने भएका छन् । जसमा पञ्जाब ११ तथा राजस्थान १६ खेलमा विजयी भएकोमा १ खेल भने बराबरीमा सकिएको थियो ।
प्रतिक्रिया