Pura Samachar

भारतको जम्मु कश्मीरमा घुम्ने क्रममा आतंकवादी हमलामा मारिएका बुटवलका सुदीप न्यौपाको शव नेपाल ल्याइयाे

प्रकाशित: बैशाख ११, २०८२

भारतको जम्मु कश्मीरमा घुम्ने क्रममा आतंकवादी हमलामा मारिएका बुटवलका सुदीप न्यौपाको शव नेपाल ल्याइयाे

भारतको जम्मु कश्मीरमा घुम्ने क्रममा आतंकवादी हमलामा मारिएका बुटवलका सुदीप न्यौपाको शव नेपाल ल्याइएको छ ।

मंगलबार दिउँसो बन्दुकधारी आतंकवादीले गोली हानेर हत्या गरेका सुदिपको शव भारतको नयाँ दिल्लीबाट लखनउसम्म हवाई मार्गबाट र त्यहाँबाट बेलहिया नाकासम्म सडक मार्ग हुँदै ल्याइएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रन्जितसिंह राठौरले जानकारी दिए । ‘आज (बिहीबार) बिहान सात बज्नै लाग्दा सुदिपको डेथ बडी बेलहिया नाका आइपुग्यो । अब यहाँबाट हामीले बुटवल घरसम्म पुर्‍याइदिन्छौं’, प्रहरी उपरीक्षक राठौरले अनलाइनखबरलाई बताए ।

२७ वर्षीय सुदिप आमा रिमाकला, बहिनी सुष्मा र ज्वाइँ युवराज काफ्लेसहित शनिबार बुटवलबाट कश्मीरको मिनी स्वीजल्याण्डसमेत भनिने वैसरण उपत्यकामा हिउ खेल्ने र घुम्ने उद्देश्यले त्यसतर्फ प्रस्थान गरेका थिए ।

त्यहाँ पुगेर घुमफिरमा रमाइरहेका बेला मंगलबार दिउँसो एक्कासी बन्दुकधारी आतंकवादीले गोली हानेर सुदीपको ज्यान लिएका थिए । सुदिपसँगै गएकी आमा रिमाकला, बहिनी र ज्वाइँले भागेर ज्यान जोगाएका थिए ।

भाग्ने क्रममा रिमाकला सामान्य घाइते समेत भएकी थिइन् । सुदिपको शवसँगै आमा र बहिनी ज्वाइँ पनि रुपन्देही आएका छन् । उक्त आतंकवादी घटनामा कम्तिमा २६ जना मारिएका छन्, तीमध्ये दुई जना विदेशी नागरिक थिए ।

बुटवल उपमहानगरपालिका- १४ का वडाध्यक्षसमेत रहेका सुदिपका काका दधिराम न्यौपानेले सुदीपको शव बेलहियाबाट बुटवल-११ मनकामनापथस्थित आफ्नै घरमा लैजाने बताए ।

आमाबुवाको सम्बन्ध विच्छेद भएपछि सुदीप आमा र बहिनीसँग बुटवल–११ कालीकानगरमा बस्दै आएका थिए । त्यसअघि उनीहरूको घर बुटवल–१४ बेलभरियामा थियो । सुदीपको पुर्ख्यौली घर भने पाल्पाको बगनासकाली गाउँपालिका वडानम्बर ४ हो ।

शिक्षण पेशामा आवद्ध बुबा ध्रुव न्यौपाने शिक्षक आन्दोलनका क्रममा काठमाडौंमा थिए । मंगलबार घर फर्किने क्रममा उनले छोराको अप्रिय खबर थाहा पाएका थिए ।

प्रतिक्रिया