काठमाण्डौ – सङ्घीय संसदको दुवै सदनको बजेट अधिवेशन आजदेखि शुरू हुँदैछ । दिउँसो १ बजे नयाँ बानेश्वरको सङ्घीय संसद भवनमा अधिवेशन शुरू हुनेछ ।
संसदको हिउँदे अधिवेशन गएको चैत १८ गते अन्त्य भएको थियो । संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट सदनको अधिवेशन आह्वान र मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी पत्रबारे सभामुख देवराज घिमिरेले जानकारी दिनुहुने छ ।
अधिवेशनको पहिलो दिन भएकाले विभिन्न राजनीतिक दलका नेतालाई दलीय आधारमा मन्तव्य व्यक्त गर्न समय दिइने छ ।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार एमाले संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनलाई सम्बोधन गर्नुहुने छ ।
व्यवस्थापन कार्यतर्फ उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ प्रस्तुत गर्ने कार्यक्रम छ ।
संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते नयाँ आर्थिक वर्षका लागि अर्थमन्त्रीले बजेट प्रस्तुत गर्नुहुने छ । बजेट प्रस्तुत हुने १५ दिनअगावै प्रि–बजेट छलफल गर्नुपर्ने कानूनी प्रावधान छ ।
त्यसअघि सदनमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा प्रि–बजेट छलफल हुने छ ।
यो अधिवेशनमा सङ्घीय निजामती सेवा ऐन र विद्यालय शिक्षासम्बन्धी विधेयक पारित गर्ने तयारी छ । यसबाहेक अरु विधेयकहरु पनि विचाराधीन अवस्थामा छन् ।
बजेटमाथि छलफल चलिरहेको बेलामा पनि अरु विधेयक अगाडि बढाउने संसद सचिवालयले तयारी गरेको छ ।
प्रतिक्रिया