Pura Samachar

कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोरीको मृत्यु

प्रकाशित: बैशाख २१, २०८२

कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोरीको मृत्यु

रौतहट : रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व पश्चिम लोकमार्गमा कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोरीको मृत्यु भएको छ ।

दुर्घटनामा गरुडा नगरपालिका ३ मलाहिटोल बस्ने वर्ष ६० का बलिराम सहनी र उनकी छोरी ४० वर्षीय उर्मिला देवी सहनीको मृत्यु भएको हो ।

मृतक सहनीले चलाएको ना. ३ प. ९५१२ नम्बरको मोटरसाइकललाई बा. ६ च. ३५२६ नम्बरको कारले ठक्कर दिएको  थियो । उनीहहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  हेटौँडाबाट चन्द्रपुरतर्फ आउँदै गरेको कारले निजगढतर्फ जाँदै गरेको मोटरसाइकललाई आज बिहान सवा ६ बजे ठक्कर दिएको थियो।

ठक्करबाट घाइते भएका मोटरसाइकल चालक सहनीको दाहिने खुट्टा, ढाड र अण्डकोषमा गम्भीर चोट लागेको थियो ।  सहनीको स्थानीय हाइवे ट्रमा सेन्टर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।

मोटरसाइकलमा सवार उर्मिलादेवीको भने दाहिने हात र ढाडमा गम्भीर चोट लागेको थियो। उनलाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि एलएस न्युरो अस्पताल बारा पठाइएको थियो । उनको पनि उपचारको क्रममा बिहान ९ बजे मृत्यु भएको हो।

ठक्कर दिने कार र चालक हेटौँडा उपमहानगरपालिका १२ बस्ने ४३ वर्षीय कुमार पोख्रेललाई नियन्त्रणमा लिएर घटना अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

प्रतिक्रिया