Pura Samachar

पुर्खाले लडेर बचाएको नेपाल, हामी अडिए जोगिन्छ -प्रधानमन्त्री केपी शर्मा ओली

प्रकाशित: June 10, 2020

पुर्खाले लडेर बचाएको नेपाल, हामी अडिए जोगिन्छ -प्रधानमन्त्री केपी शर्मा ओली

जेठ २८, २०७७ काठमाडौं  : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले हडपेको भूमि फिर्ता अभियान नेपाल र नेपालीको साझा भावना भएको बताएका छन्।  बुधबार बसेको संसद बैठकमा प्रधानमन्त्रीको कार्यालय अन्तरगतको विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्।  ओलीले नेपाललाई पुर्खाले लडेर जोगाएको बताउँदै अब यो पुस्ताले अडिन सकेमा सार्वभौमिकता र भौगोलिक अखण्डता जोगिने उल्लेख गरे। ‘पुर्खाले यो देश लडेर बचाएका हुन्, हामी आज अडे मात्रै हाम्रो भौगोलिक अखण्डता जोगिन्छ, त्यसैले हामी अडिनु जरुरी छ’, उनले भने, ‘भूमि फिर्ता अभियान हाम्रो साझा भावना र साझा अभियान हो। कसले जस लिने, कसले श्रेय लिने विषय हुँदै होइन। कसैलाई देवत्वकरण गर्ने कुरै होइन।’ ओलीले अहिलेको सरकारलाई शक्ति केन्द्रित गर्ने कुनै सपना नरहेको पनि बताएका छन्। उनले शक्ति केन्द्रित गर्ने आफ्नो सोच पनि नरहेको स्पष्ट पारेका छन्।  उनले संसद अहिले फराकिलो भावनाका साथ अगाडि बढिरहेको भन्दै खुसी पनि व्यक्त गरे। ओलीले राष्ट्रिय एकताका लागि सर्वदलीय बैठक, सर्वपक्षीय बैठकको राय सल्लाह र परामर्श लिएर नै अघि बढेको पनि जानकारी दिए।

प्रतिक्रिया