Pura Samachar

कोरोनाबाट चमेरा कसरी बच्यो भन्ने रहस्यको खोजी हुँदै

प्रकाशित: July 28, 2020

कोरोनाबाट चमेरा कसरी बच्यो भन्ने रहस्यको खोजी हुँदै

बीबीसी । कोरोना भाइरस सम्बन्धी जारी खोज अन्र्तगत वैज्ञानिकहरु अहिले विश्वका ६ प्रकारका चमेराहरुको गहिराइपूर्वक अध्ययन गरिरहेका छन् । ती प्रजातिको डीएनए र जैविक विशेषताले भाइरसबाट बच्ने तरिका पनि बताउन सक्ने उनीहरुको विश्वास छ । किनकी चमेराबाटै संक्रमण फैलिएको भनिएको यो खतरनाक भाइरसले यो चरालाई चाहिँ किन असर गरेन भन्ने कुरा अझै रहस्यमयी नै छ ।

त्यसैले चमेराहरु बिरामी नपरि कसरी कोरोना बोकेर बाँच्न सक्छन् भन्ने सम्बन्धी अनुसन्धानकर्ताहरु लगातार खोजी गरिरहेका छन् । यसको जवाफ पत्ता लागेमा सो तथ्य मानव स्वास्थ्य सम्बन्धी र भविष्यका महामारीको समेत समाधान हुन सक्ने उनीहरुको भनाइ छ ।

युनिभर्सिटी कलेज डब्लिनकी प्रोफेसर एमा टिलिङका अनुसार तिनको जैविक पद्धतिबारे अध्ययन गर्दा उनीहरुले चमेराको प्रतिरोधात्मक प्रणाली वास्तवमै एकदम अनौठो र फरक हुने पत्ता लगाएका हुन् । त्यसैले पनि तिनको शरीरले कसरी बिरामी नभइ भाइरसलाई धान्न सक्छ भन्ने थाहा पाउनुले कोभिड–१९ को नयाँ उपचार खोजी गर्नमा मद्दत मिल्ने बताइएको छ ।

बीबीसँगको कुराकानीमा उनले भनिन्, “यसरी हामीले भाइरस प्रति चमेराको प्रतिरोधात्मक प्रणालीको प्रतिक्रिया नक्कल गर्न सक्यौँ भने कोभिड विरुद्ध प्राकृतिक उपचार प्राप्त गर्न सक्नेछौँ । र हामीसँग वास्तवमै त्यसो गर्न सक्ने माध्यम र श्रोतसाधन पनि छ । यसमा केबल हामीले तिनीहरुको शरीरलाई बुझेर त्यही अनुरुप कदम अघि बढाउँदै लैजाने हो भने उनीहरु जस्तै बन्ने, औषधि विकास गर्न सक्नेछौँ ।”

प्रोफेसर टिलिङ ‘ब्याट१के’ परियोजनाकी सहसंस्थापक हुन् जसले १ हजार बढी जिवित चमेराका प्रजातिको जीन अध्ययन गर्ने लक्ष्य राखेको छ ।

कोभिड–१९ चमेराबाटै आएको भन्ने तथ्यका कारण पनि यस विरुद्धको उपचारको खोजीमा यो चराको भूमिका महत्वपूर्ण मानिएको छ । सार्स, मर्स र इबोला लगायत यस्ता विभिन्न भाइरसहरु जीवजन्तुबाटै मान्छेमा सरेका हुन् । त्यसैले वन्यजन्तुलाई तिनको प्राकृतिक वासस्थानमा रहँदा कुनै असर नपार्न र कुनै किसिमको हस्तक्षेप नगर्न विज्ञहरुले सुझाव दिँदै आएका छन् ।

अहिले भने चमेरकाका ६ प्रजाति : ‘इजिप्सयन फ्रुट ब्याट, स्पियर नोस्ड ब्याट, माउस इयर्ड ब्याट, कुहिज पिपिस्ट्रेल ब्याट र भेल्भेटी फ्रि टेल्ट ब्याट’ को अध्ययन भइरहेको छ । यसमा अन्तर्राष्ट्रिय वैज्ञानिकहरुको टोलीले प्रविधिमार्फत ती ब्याटहरुको जीन संरचना पहिचान गरि अनुसन्धान प्रक्रिया अगाडि बढाइरहेका छन् ।
अधिकांश भाइरल संक्रमण हुँदा भाइरस आफैँलेभन्दा पनि शरीरको प्रतिरोधात्मक प्रणालीले त्यस विरुद्ध दिने आक्रामक प्रतिक्रियाका कारण मान्छेको मृत्यु हुने गर्दछ । तर चमेराले भने त्यस किसिमको आन्तरिक शारीरिक प्रतिक्रियालाई नियन्त्रण गर्न सक्छ त्यसैले तिनले रोगी भएको पनि कुनै लक्षण देखाउँदैनन् ।

प्रतिक्रिया