Pura Samachar

कोरोना पुष्टि हुनुभन्दा ५ दिनअघि प्रधानमन्त्री र गृहमन्त्रीसँग मन्त्री यादवको भेट

प्रकाशित: August 6, 2020

कोरोना पुष्टि हुनुभन्दा ५ दिनअघि प्रधानमन्त्री र गृहमन्त्रीसँग मन्त्री यादवको भेट

काठमाडौं । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवलाई बुधबार कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरिएको छ । उनीसँगै उनले सम्हालेको मन्त्रालयका आठ कर्मचारीमा समेत कोरोना संक्रमण देखिएको छ ।

मन्त्री यादवका अनुसार मुख्यमन्त्री कार्यालयका चारजनामा पनि कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो समय कोरोना भाइरसको संक्रमण व्यापक बनिरहेका बेला भेला, भेटघाट नगर्ने भनेर सरकारले नै उर्दी जारी गरेको छ । तर, कोरोनाको हटस्पट मानिने प्रदेश २ बाट आएका कानुनमन्त्री यादवले पाँच दिनअघि प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापासहितको टोलीसँग भेट गरेका थिए ।

स्रोतका अनुसार उनी अहिले जनकपुर पुगिसकेका छन् । उनले आफू काठमाडौंमा हुँदा साउन १६ गते अर्थात पाँच दिनअघि प्रधानमन्त्री र गृहमन्त्रीलाई भेट गरेको पुष्टि गरेका छन् ।

कोरोना भाइरसको संक्रमण भएको १४ दिनपछि मात्रै संक्रमण भए-नभएको पुष्टि हुन्छ । तर, पुष्टि हुनुभन्दा पाँच दिनअघि कानुनमन्त्री यादवलाई भेट्दा प्रधानमन्त्री र गृहमन्त्रीसहितको टोलीलाई पनि संक्रमणको जोखिम रहेको देखिएको छ ।

उनीहरुको पनि स्वाब संकलन गरेर तत्काल परीक्षण गर्नुपर्छ । मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्रीजस्तो व्यक्तिलाई लापरबाही गर्न हुँदैन । उनको तत्काल कोरोना परीक्षण गराउनुपर्ने चिकित्सकहरुले सुझाएका छन् ।

साउन १६ पछि प्रधानमन्त्रीले पनि पार्टी र आफ्नो गुटका विभिन्‍न व्यक्तिसँग भेला र छलफल गरेका छन् । यो अवधिमा साउन १६ गते मन्त्री यादवलाई भेटेका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ गरेर उनीहरुको सम्पर्कमा आएका सम्पूर्ण व्यक्तिको कोरोना परीक्षण तत्काल गराउनुपर्ने बताइएको छ ।

देशको नेतृत्व तहमा रहने व्यक्तिहरुमाथि यो हदसम्म लापरबाही गर्नु गम्भीर विषय भएको बताइएको छ ।

प्रतिक्रिया