काठमाडौं । नेपालमा माघमा अन्तिममा पहिलो कोरोना भाइरस संक्रमित फेला परेका थिए भने जेठ २ गते पहिलो कोरोना भाइरस संक्रमितको मृत्यु भएको थियो । कोरोना भाइरस संक्रमणबाट सिन्धुपाल्चोककी सुत्केरी महिलाको मृत्यु नै पहिलो कोरोना संक्रमणबाट मृत्यु भएको केस भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेठ २ गते पुष्टि गरेको हो ।
काठमाडौंस्थित शिक्षण अस्पतालमा सुत्केरी भएर घर फर्किएपछि बिरामी परेकी र उनलाई उपचारका लागि स्थानीय अस्पताल लगिँदा उनको मृत्यु भएको हो । जेठ २ गतेसम्म कोरोना भाइरस संक्रमितको संख्या २८१ मात्रै थियो ।
सरकारले चैत ११ गतेदेखि जारी गरेको लकडाउनका कारण कोरोना संक्रमण नियन्त्रणमा भएको बताइएको थियो । तर, मुलुकको अर्थतन्त्र नै तहसनहस हुने भन्दै साउन ७ गते लकडाउन अन्त्य भएको घोषणा गरियो । साउन ६ गतेसम्म कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ९९४ रहेको थियो । दुई महिनाभन्दा केही बढी समयमै संक्रमितको संख्या २८१ बाट बढेर १७ हजार पुग्यो । साउन ६ गतेसम्म कोरोना भाइरसको संक्रमणबाट ४० जनाको मृत्यु भयो ।
सरकारले साउन ७ गते कोरोना भाइरसको नियन्त्रणका लागि जारी गरिको लकडाउन अन्त्य भएको घोषणा गर्यो । लकडाउन सकिएसँगै आवतजावत र भिडभाड बढ्यो । प्रदेश १ र २ मा संक्रमण समुदायस्तरमा फैलियो । जसका कारण साउन ७ यता साउन २८ गतेसम्म २२ दिनको अवधिमा थप ६ हजार ४३८ जनामा कोरोना संक्रमण भयो ।
हाल कुल संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ भने मृत्यु हुनेको कुल संख्या ९१ पुगेको छ । लकडाउन खुले यता २२ दिनको अवधिमा मात्र ५१ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।
संक्रमणमुक्त हुने दरमा कमी
त्यसैगरी साउन ७ गतेदेखि हालसम्म २२ दिनमा चार हजार २५१ जना कोरोना संक्रमणमुक्त भएका छन् । साउन ६ गते कोरोना निको हुनेको संख्या १२ हजार ४७७ थियो भने त्यसयता चार हजार २५१ जना निको भएका छन् ।
कोरोना संक्रमणमुक्त हुनेको संख्या हाल १६ हजार ७२८ पुगेको छ । चिकित्सकहरुका अनुसार कोरोना संक्रमणले आफ्नो स्वरुप फेरेका कारण संक्रमितहरुमा कडा लक्षण देखिएको र जसका कारण आइसोलेसन र भेन्टिलेटरमा राख्नुपर्ने बिरामी बढ्दै गएको बताइएको छ । जसले गर्दा कोरोना संक्रमण मुक्त हुने दरमा पनि कमी आएको छ ।
प्रतिक्रिया