Pura Samachar
  • समस्या ओलीमा भएकोले कुनै ‘कार्ड’ले काम गर्दैन, प्रचण्ड भन्छन् – हारेजस्तो देखिन्छ

    प्रकाशित: १ महिना पहिले

    समस्या ओलीमा भएकोले कुनै ‘कार्ड’ले काम गर्दैन, प्रचण्ड भन्छन् – हारेजस्तो देखिन्छ

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको आन्तरिक द्वन्द्व समाधानका लागि ९ दिनपछि भएको दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ वार्ता ‘समानउन्मुख’ भएको बताइयो । बिहीबार भएको ओली-प्रचण्ड वार्तामा आगामी दिनमा फेरि छलफलबाट सहमति खोज्‍ने सहमति भएको बताइएको छ ।

    ओलीसँगको वार्ता सकेर प्रचण्ड थापागाउँस्थित प्रेसिडेन्सियल कलेजमा आयोजित प्रदेश ५ स्तरीय केन्द्रीय सदस्यको भेलामा उपस्थित भए । वरिष्ठ नेता माधवकुमार नेपाल निकट केन्द्रीय सदस्यको भेलामा पूर्वमाओवादीका चार केन्द्रीय सदस्यह उपस्थित थिए ।

    प्रचण्ड-नेपालसहित अर्का वरिष्ठ नेता झलनाथ खनाल र नारायकाजी श्रेष्ठ पनि उक्त भेलामा उपस्थित थिए । भेलालाई सम्बोधन गर्दै बालुवाटार बैठकको बिफ्रिङ गरेका थिए । भेलामा अध्यक्ष प्रचण्डले लामो समयपछि संवाद सुरु हुनु नै सकारात्मक भएको जानकारी दिएका थिए । उनले भने, “बैठकमै आउँदिन र जे निर्णय गर्न मन लाग्छ त्यही गर भनेको अवस्थामा छलफल सुरु हुनु राम्रै कुरा हो ।”

    “बाहिरबाट हेर्दा हामी हारेजस्तो देखिन्छ । तर, यो हारेको होइन हामीले संयमता अपनाएको हो । पार्टीलाई विधि प्रक्रियाअनुसार चलाउन हामीले चालेको कदम हो,” उनले भने, “हामी अपमानित भएर पनि सहेर बसेका छौं । पार्टी एकता, परिवर्तन र जनआकांक्षाका जोगाउन सहेर बसेका हौं ।”

    ओलीले केही हदसम्म आफ्नो गल्ती महसुस गरे पनि पूरै सहमतिमा आइनसकेको उनको भनाइ थियो ।

    बिहीबार बालुवाटारमा भएको छलफलमा ओली र महासचिव विष्णु पौडेलले प्रचण्डलाई सरकारका निर्णयहरु सचिवालय बैठकबाट अनुमोदन गर्ने, मन्त्रिपरिषद् पुनर्गठन गर्ने, ओलीले आफ्ना कमीकमजोरीप्रति आत्मालोचना गर्ने र त्यसको बदलामा पाँचै वर्ष प्रधानमन्त्रीमा ओली नै कायम रहेनगरी सहमतिको प्रस्ताव गरेका छन् । उक्त प्रस्तावका बारेमा प्रचण्डले सहमति जनाइ सकेका छैनन्, छलफल गर्न सकिने बताएका छन् ।

    ९ दिनपछि भएको ओली-प्रचण्ड वार्तामा ओली समूहले वर्तमान केन्द्रीय कमिटीलाई आयोजक कमिटी बनाउने र रूपान्तरित आयोजक कमिटीको नेतृत्व प्रचण्डलाई दिने गरी सहमतिको खाका तयार गरेर प्रचण्डलाई मनाउने तयारीमा ओली समूह जुटेको छ । सम्भवत: यही भएर हुनुपर्छ, बुधबार एपी वानसँगको अन्तर्वार्तामा अध्यक्ष ओलीले काउन्ट डाउन सुरु गर्न र पाँच दिनभित्र बेग्लै ‘सिनारियो’ देखापर्ने दाबी गरेका थिए ।

    प्रचण्ड पक्षका एक नेताले भने अब ओलीले फ्याँकेका कुनै कार्ड काम नलाग्‍ने बताएका छन् । उनले दुई नेताबीचको पदको भागबण्डाले पार्टीको समस्या समाधान नहुने बताएका हुन् । उनले भने, “समस्या ओलीमा हो, पदको भागबण्डा र कमिटीमा होइन । केन्द्रीय कमिटीलाई आयोजक कमिटीमा बनाउँदै समस्या समाधान हुँदैन । हामीले विधि स्थापित गर्न खोजेका हौं, व्यक्ति होइन ।”

    उनले अब ओली प्रचण्ड मिल्दैमा समस्या समाधान नहुने बताएका छन् । विवादको सैद्धान्तिकीकरण भइसकेकोले यो विषय पद लेनदेनमा मात्रै नटुंगिने ती नेताको दाबी छ ।

    प्रतिक्रिया