Pura Samachar

अनलाइनमार्फत् ४८ लाख ठगी गर्ने विदेशी नागरिक पक्राउ

प्रकाशित: August 17, 2020

अनलाइनमार्फत् ४८ लाख ठगी गर्ने विदेशी नागरिक पक्राउ

काठमाडौं ।प्रहरीले नक्कली मुद्रा कारोबार गर्ने र अनलाइन ठगी गर्ने विदेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाले सामाजिक सञ्जालमार्फत् ठगी गर्ने रिपब्लिका दि एंगोलाका ४८ वर्षीय सिल्भा एन्टोनियो दा कोस्टालाई पक्राउ गरेको हो ।

उनले सामाजिक सञ्जालमा एक महिलालाई आफू लण्डनको बुपा क्यामवाल अस्पतालको डाक्टर रहेको र नेपाल आएपछि बिहे गर्ने भनी ४८ लाख ५४ हजार ४२० ठगी गरेको आरोप लगाइएको छ ।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक ईश्वर कार्कीले पीडित महिलालाई नयाँ वर्षको अवसरमा हिराको औंठी, घडी, सुनको सिक्री र नगद दुई लाख ३० हजार पाउण्ड पठाएको र सामानको भन्सार र एक्सचेञ्ज चार्ज (शुल्क) बुझाउन पर्नेभन्दै उक्त रकम ठगी गर्ने विदेशी नागरिक कोस्टालाई शुक्रबार सोल्टी होटलबाट पक्राउ गरिएको जानकारी दिए ।

“पक्राउ परेका कोस्टाले भन्सार छुटाउनका लागि भन्दै पीडित महिलासँग थप २० लाख मागेपछि प्रहरीको टोलीले शुक्रबार सोल्टी होटलबाट नियन्त्रणमा लिएको हो,” प्रवक्ता कार्कीले भे । पक्राउ परेका व्यक्तिले सोहीदिन अर्की युवतीबाट पनि ३७ हजार ठगी गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

पक्राउ परेकै दिन प्रहरीले कोष्टाको ठमेलस्थित कोठामा समेत खानतलासी गरेको छ । खानतलासीका क्रममा कोष्टाको कोठाबाट नक्कली नोट बनाउन प्रयोग हुने केमिकल र कागजसमेत प्रहरीले बरामद गरेको प्रवक्ता कार्कीले बताए । पक्राउ परेका व्यक्ति २०७६ फागुनमा नेपाल आएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिसँग नेपाली तीन लाख १५ हजार सात सय ४५, अमेरिकन डलर नौ सय, एटीएम कार्ड, ल्यापटप एक थान, नक्कली नेपाली एक हजारका नोट तीन थान, नोट आकारको कालो कागजको बण्डल, ए–फोर पेपरलगायतका सामग्री प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेका व्यक्तिलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर पठाइएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया