एजेन्सी । च्याम्पियन्स लिग फुटबलअन्तर्गत फाइनल खेलमा आज (आइतबार) राति फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन र वायर्न म्युनिख प्रतिस्पर्धा गर्दै छन् ।
दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति १२:४५ मा सुरु हुँदै छ । पाँचपटकको च्याम्पियन वायर्न योपटक पनि लिगको उपाधि जित्ने योजनामा छ । वायर्नले अन्तिम पटक सन् २०१३ मा च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।
यो सिजन वायर्नको प्रदर्शन हेर्दा पीएसजीभन्दा तुलनात्मक रुपमा बलियो देखिन्छ । जर्मन च्याम्पियन वायर्नले च्याम्पिनयन्स लिगका धेरै खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । वायर्न सेमिफाइनल खेलमा फ्रेन्च क्लब लियोनलाई ३-० गोल अन्तरले पराजित गर्दै फाइनल पुगेको थियो ।
यता पीएसजी पनि पहिलोपटक उपाधि उचाल्ने दाउमा छ । विश्व स्तरका ठूला खेलाडी अनुबन्ध गरेको पीएसजीले यो सिजन च्याम्पियन्स लिगको उपाधि जित्ने योजना बनाएको छ । पीएसजीलाई स्टार खेलाडी नेयमार र युवा स्टार खेलाडी केलियन एम्बाप्पेको साथ छ ।
प्रतिक्रिया