काठमाडौं । एक बैंकको एटीएम अर्को बैंकमा प्रयोग गर्दा शुल्क नलाग्ने भएको छ । गत चैतमा सरकारको लकडाउनसँगै अन्तर बैंक एटीएम सेवा निशुल्क गरेका बैंकहरुले नयाँ आर्थिक वर्ष लागेसँगै शुल्क लाग्ने बताएका थिए ।
तर केन्द्रीय बैंकले चालु मौद्रिक नीतिमार्फत बैंकहरुलाई इन्टर बैंक एटीएम सेवा निशुल्क गर्न निर्देशन दिएको थियो । मौद्रिक नीतिमा भएको व्यवस्था अनुसार केन्द्रीय बैंकको नियमन विभागले यसअघि नै बैंक तथा वित्तीय संस्थाहरुको लागि परिपत्र जारी गर्दै अन्तर बैंक एटीएम सेवा निशुल्क गर्न निर्देशन दिएको थियो ।
राष्ट्र बैंकले परिपत्रमार्फत दिएको उक्त निर्देशन अनुसार भुक्तानी प्रणाली विभागले भुक्तानी प्रणालीसम्बन्धी एकिकृत निर्देशिका जारी गर्दै अन्तर बैंक एटीएम सेवा निशुल्क गर्न निर्देशन दिएको छ । केन्द्रीय बैंकले एकिकृत निर्देशीकमा नै अन्तर बैंक एटीएम सेवा निशुल्क गरेकोले अब अर्को व्यवस्था नहुँदासम्मको लागि अन्तर बैंक एटीएम नि:शुल्क हुने भएको छ ।
“एटीएम कार्डको अवधि समाप्त हुनुभन्दा १५ दिन अगावै सोको सूचना ग्राहकलाई एसएमएस मार्फत दिनुपर्नेछ तथा कार्ड नवीकरण शुल्कको बारेमा समेत जानकारी गराउनु पर्नेछ,” राष्ट्र बैंकको निर्देशिकामा भनिएको छ, “एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेका एटीएम कार्ड स्वदेश भित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटीएममा प्रयोग गर्दा कार्ड प्रयोगकर्तासँग कुनै शुल्क लिन पाइने छैन ।”
एटीएम रहेको ठाउँमा कारोबार सम्बन्धमा तत्काल कुनै जानकारी-सहयोग आवश्यक भएमा सो प्रयोजनका लागि सम्बन्धित कर्मचारीको नाम र मोबाइल नम्बर तथा सम्बन्धित संस्थाको नाम, ठेगाना र टेलिफोन नम्बर ग्राहकले प्रष्टसँग देख्ने र बुझ्ने गरी नेपाली र अंग्रेजी भाषामा लेखेर टाँस्न समेत केन्द्रीय बैंकले भनेको छ ।
यस्तै बैंक तथा वित्तीय संस्थाहरूले प्रिपेड कार्ड जारी गर्दा प्रति ग्राहक अधिकतम एक लाख र कार्ड जारी गर्न अनुमतिपत्रप्राप्त भुक्तानी सेवा प्रदायक संस्थाहरूले अधिकतम २५ हजारसम्मको कार्ड जारी गर्न सक्ने केन्द्रीय बैंकले जनाएको छ ।
त्यस्तै ग्राहकले वस्तु तथा सेवा खरिद गर्ने क्रममा बिल बमोजिमको रकम कार्डमार्फत सम्बन्धित व्यवसायिक फर्मको खातामा भुक्तानी गर्दा केन्द्रीय बैंकले तोकेको अधिकतम सीमाले बाधा पुग्ने निर्देशिकामा उल्लेख छ ।
प्रतिक्रिया