Pura Samachar
  • कृषकलाई नै रुवाउने कस्तो कृषि क्रान्ति हो भूसाल कमरेड ?

    प्रकाशित: ३ हप्ता पहिले

    कृषकलाई नै रुवाउने कस्तो कृषि क्रान्ति हो भूसाल कमरेड ?

    “समृद्धि र समाजवादको अभियानमा लागेको क्रान्तिकारी पार्टीले बाटो बिराएका छन् । क्रान्तिकारीहरुले विकासको सवालमा कोरा परिकल्पना धेरै गरेको तर मानिसको विकासको कुरै गरेका छैनन् । मलाई रेल र पानीजहाज विरोधी भनेर चित्रण गर्छन् । जनताको जीवनस्तर उकास्‍ने समाजवादको बाटोमा अघि बढ्नुपर्ने दुईतिहाई बहुमतप्राप्त क्रान्तिकारीहरुको सरकार दलाल पूँजीवादको चंगुलमा फसेको छ ।”

    २२ वैशाख ०७६ को एक कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा नेता घनश्याम भूसालले गरेको भाषणको एक अंश हो । उनी पदमा नहुँदा निकै क्रान्तिकारी र कृषक, मजदुरलगायतका वर्गको उत्थानका लागि बोल्‍ने नेताका रुपमा परिचित थिए । सरकारको चर्को आलोचना गरेकै भरमा प्रधानमन्त्री केपी शर्मा ओलीले ४ मंसिर, २०७६ मा उनलाई मन्त्री पद दिइयो । समाजवाद, समृद्धि र कृषि क्रान्तिको नारा भट्‌याउने भूसाल कमरेड पदको भार बोकाइ दिएपछि केही समय मौन बसे ।

    मिडियाहरुले उनको मौनता प्रश्‍न गर्दा आफू जनताको जीवनस्तर उकास्‍न र कृषकहरुलाई सहुलियत प्रधान गर्न योजना बनाइरहेको जवाफ दिएका थिए । भूसालले कषि मन्त्रालय सम्हालेको नौ महिना बितिसकेको छ । तर, कृषिमन्त्रीको कृषि क्रान्तिको छनक भने कहीँ पनि देखिएको छैन । असारमा पाउनुपर्ने मल कृषकहरुले भदौ मध्य हुँदा पनि पाउन सकेका छैनन् ।

    कोरोना महामारीका समयमा पनि आफ्नो जीवनको प्रवाह नगरी ठूलो मिहनेतले रोपेको धान फलाउन कृषकहरु मल गोदामअघि सयौंको संख्यामा घन्टौं लाइनमा बस्‍न बाध्य भएका छन् । रोपाइँकै बेला रासायनिक मलको अभाव झेलेका किसानले रोपो पहेँलो हुँदासम्म मल नपाउँदा धान उत्पादनमा गिरावट आउँछ । यसले देशकै अर्थतन्त्रमा धक्का पुग्छ । निषेधाज्ञाबीच ठेलमठेल भिडमा लाइन लागेका उनीहरूले मुस्किलले १०–१५ किलो मात्रै मल पाए भने कोही रित्तो हात आँशु पुछ्दै फर्किए । लकडाउनका समयमा प्रहरीको दुर्व्यवहार सहँदै मल खोज्दै पसल चहार्ने कृषकहरुको पीडा बयान गरी साध्य छैन । बालबच्‍चा घर छोडेर उज्यालो नहुँदै मल गोदामअघि लाइनमा बसेका कृषकहरुले बेलुका अध्याँरो भइसक्दा मल पाएनन् ।

    कृषिमन्त्रीज्यू के तपाईंको कृषि क्रान्ति भनेको यीनै कृषकहरुलाई रुवाउने हो ? तपाईं त बुझेको मन्त्री । के बुधबार देशभर मल गोदामअघि लाइनमा बसेका कृषकहरुको पीडाले तपाईंको मन पोलेन ? कोरोना फैलिने त्रासकाबीच मल पाउने आशामा लाइनमा बसेका ती वृद्ध किसानहरुलाई के ज्यानको माया नहोला र ?

    हो, यो वर्षौदेखिको समस्या हो । निमेषभरमा ठिक पार्न सकिँदैन । तर, व्यवस्थित र समान ढंगले वितरण प्रणाली त बनाउन सकिन्छ नि । वर्षौदेखिको दैनिक १८ घण्टादेखिको लोडसेडिङ कुलमान घिसिङले दुई महिनामै अन्त्य गरेका होइनन् र ? उनले पनि दुई महिनामै नेपालीलाई पुग्‍ने बिजुली उत्पादन गरेका त होइनन् । उनले त्यही भएको बिजुलीलाई व्यवस्थितरुपमा वितरण गरेका हुन् । बिचौलियालाई पाखा लगाएका हुन् । कमिसनखोरहरुलाई तह लगाएका हुन् । तब, नेपाली जनताले बत्ती आउने साइत कुर्न छोडेका हुन् ।

    तपाईं त मन्त्री । त्यसमा पनि अहिले प्रधानमन्त्री निकट नै हुनुहुन्छ । एक प्राधिकरणको प्रमुखभन्दा कयौं बढी अधिकार तपाईंलाई छ । तपाईंले मंसिरमा मन्त्रालय सम्हाल्दै योजना बनाउन सक्नुहुन्थ्यो कि असारमा हुने मल हाहाकार अन्त्य गर्न । तर, तपाईं पनि अरुजस्तै बिचौलियाको चंगुल पर्नुभयो वा अलमलिनुभयो । अनि तपाईंको ओठे जवाफ आयो, “बोलकबोलमा सबैभन्दा कम प्रस्ताव गर्ने कम्पनीसँग ठेक्का सम्झौता गर्नु भन्ने हाम्रो कानुनी व्यवस्था छ । बढी कबोल्नेलाई दिनु हुँदैन भन्ने छ । शैलुङ र होनिको भन्ने दुई कम्पनीले कम कबोल गरे । ती कम्पनीहरू मल ल्याउन ठेक्का हाल्ने पहिलो नेपाली सप्लायर्स हुन् । अहिलेसम्म विदेशी कम्पनीले ठेक्का पाउने गरेका थिए । नेपाली कम्पनी हुन्, ल्याउलान् भन्ने लागेको थियो, ल्याइदिएनन् ।”

    अन्य नेतालेजस्तै दिएको यो गैरजिम्मेवार जवाफ फेरि आफैं तपाईंले पढ्दा कतै संकोच लाग्दैन । यस्तो जवाफले जनताला के दिन्छ ? भूसाल कमरेड तपाईं आफूलाई किसान नै भन्‍न रुचाउनुहुन्छ । किन कि तपाईं किसानको छोरा । किसानको नेता र अहिले किसानकै मन्त्री पनि । यस अर्थमा नेपालमा कृषि विकासबिना आर्थिक/सामाजिक विकास सहज छैन भन्ने पक्कै पनि बुझ्नुपर्ने हो । तर, पनि यस्तो महामारीका समयमा पनि किसानलाई रुवाउनुभयो ? आँशु पुछ्दै रित्तो हात फर्किएका किसानलाई कसरी सान्त्‍वना दिनुहुन्छ कि तपाईंलाई भोलि पनि तीनै किसानले भोट गरुन् अनि फेरि कृषि बनाउन् ?

    दलाल पुँजीवादले समाजवाद आउँदै भन्‍ने राम्ररी बुझेका कृषीमन्त्रीले फेरि पनि ठेकेदारले गरिदिएन भन्‍ने तपाईंको जवाफले किसानको मन भाँचिएको छ । हुन त बंगलादेशसँग ५० हजार टन युरिय पैँचो माग्‍नु भएको छ । अब त्यो पनि ठेकेदारले ल्याउने र समान वितरण हुने ग्यारेन्टी के छ ? यी र यस्ता कयौं आशंकायुक्त प्रश्‍नले किसानलाई साँच्‍नै पिरोलेको छ । किसानलाई रुवाउने होइन, खुसी पार्ने मन्त्री चाहिएको छ । समय छँदैछ, त्यो अझै पनि गर्न सक्नुहुन्छ । बिचौलिया र दलाललाई तपाईं राम्रोसँग चिन्‍नुहुन्छ । त्यस्ता दलाललाईहरुलाई किसानको हात र मुखको बीचमा आउन नदिनूस् ।

    प्रतिक्रिया