काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरूलाई ऋण खोसाखोसको प्रतिस्पर्धा रोक्ने निर्देशन दिएका छन् । कोभिड १९ का कारण नयाँ कर्जाको माग नआउँदा अहिले बैंकहरूमा एक-अर्काको ग्राहक खोसाखोस गरेर ऋण लगानी गर्ने प्रतिस्पर्धा चलेको छ ।
एकीकृत निर्देशन जारी गर्नुपूर्व केन्द्रीय बैंकले मंगलबार बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग अनलाइन माध्यबाट छलफल गर्दै बैंकहरूबीच पछिल्लो समय देखिएको अस्वस्थ प्रतिस्पर्धा रोक्ने गभर्नर अधिकारीले निर्देशन दिएका हुन् ।
बैंकहरूबीच अहिले प्रतिस्पर्धात्मक व्यवसाय गर्ने समय नभएको र आफू र अरुलाई जोगाएर अगाडी बढ्नुपर्ने समय भएकाले अस्वस्था प्रतिस्पर्धामा नजान बैंकहरूलाई गभर्नर अधिकारीले भनेको छलफलमा सहभागी एक अधिकारीले बताए । “अहिले प्रतिस्पर्धात्मक व्यवसाय गर्ने समय होइन भनेर गभर्नरले भन्नुभयो,” उनले भने, ‘‘बैंक भनेको दीर्घकालीन व्यवसाय हो, त्यसैले अहिले अस्वस्थ्य प्रतिस्पर्धा नगर्नुस्, अहिले प्रतिस्पर्धा गरेर नाफा कमाउनेभन्दा पनि आफू जोगिएर अरुलाई पनि जोगाउने समय हो ।”
अहिले एक बैंकले अर्को बैंकको कर्जा तान्ने, सहवित्तीयकरणमा नेतृत्व गरेको गरेको बैंकले अरु बैंकलाई सोध्दै नसोधी एकलौटी निर्णय रुपमा कर्जा दिनेलगायत गतिविधि बढेको भन्दै राष्ट्र बैंकमा गुनासो पुगेको छ । कतिपय बैंकले आधार दरभन्दा सस्तोमा कर्जा दिने, बैंकहरूमा अधिक तरलता भएपछि लघुवित्तहरूले बैंकबाट सस्तो ब्याजदरमा बागर्नेनिङ गरेर कर्जा लिएर पहिलेको कर्जा तिर्ने जस्ता गतिविधि पछिल्लो समयमा बढेको बैंकरहरूले नै बताउँदै आएका छन् ।
केन्द्रीय बैंकले विपन्न वर्गबाहेक अन्य क्षेत्रमा आधार ब्याजदरभन्दा तल गएर कर्जा लगानी गर्न नपाउने व्यवस्था गरेको भए पनि पछिल्लो समय त्यसको उल्लंघन बैंकहरुले गर्दै आएका थिए ।
“गभर्नरले बैंकिङ भनेको लङ टर्म बिजनेस हो, यसमा जोखिम व्यवस्थापन गर्दै अगाडि बढ्नुपर्छ,” गभर्नरले भनेको कुरा उल्लेख गर्दै एक बैंकरले भने, “कोभिडका बेलामा धेरै जोखिम बढाउने तथा अस्वस्थ प्रतिस्पर्धा भएको सुनिन्छ त्यसो नगर्नुस् यसले सिस्टमेटिक रिक्स बढाउने जोखिम हुन्छ ।”
गभर्नर अधिकारीले कर, गाडीलगायत व्यक्तिगत प्रकृतिका कर्जाको ब्याजदर फिक्स गर्नेगरी एकीकृत निर्देशन जारी गर्ने बताएको ती बैंकरले बताए । एकीकृत निर्देशनमा फ्लोटिङ र फिक्स दुवै व्यवस्था गर्ने संकेत गरेको उनले बताए । व्यक्तिगत प्रकृतिको कर्जामा हुने ब्याजदरमा हुने उतारचढाव रोक्न योजनामा केन्द्रीय बैंक रहेको संकेत गभर्नर अधिकारीले गरे ।
छलफलको शुभारम्भ गर्दै नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले पनि बैंकहरूलाई अस्वस्थ प्रतस्पर्धा नगर्न भनेको ती बैंकले बताए । “बैंकहरूबीच अहिलको परिस्थितिमा पनि अस्वस्थ प्रतिस्पर्धा भएको सुनिन्छ त्यसे नगर्नुस् यसले सिस्टमेटिक जोखिम बढाउँछ ।” ढकालको भनाइ उद्धृत गर्दै ती बैंकरले भने । छलफलमा सबै वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत, राष्ट्र बैंकको विभागीय प्रमुखहरू, दुवै डेपुटी गभर्नर र गभर्नर सहभागी थिए ।
प्रतिक्रिया