Pura Samachar

विद्युत प्राधिकरणमा कुलमान नै दोहोरिने सम्भावना कति ?

प्रकाशित: September 11, 2020

विद्युत प्राधिकरणमा कुलमान नै दोहोरिने सम्भावना कति ?

काठमाडौं । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल भदौ २९ गते सकिँदै छ । अहिले सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कसलाई गर्दा भन्‍ने विभिन्‍न कोणबाट अनुमानहरु भइरहेका छन् ।

यसअघिको मन्त्रिपरिषद्‌ बैठकले कुलमानलाई नै दोहोर्‍याउने निर्णय गरेको भन्दै सामाजिक सञ्‍जालमा व्यापक प्रचार गरिएको थियो । तर, मन्त्रिपरिषद्‌ले भने उक्त निर्णय गरेको थिएन । तत्कालीन सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री युवराज खतिवडाले भने सामाजिक सञ्‍जालले नै नियुक्ति दिएको होला भन्दै कटु वचन बोलेका थिए ।

कुलमानले पनि आफूलाई नियुक्ति नगरिएको भन्दै सामाजिक सञ्‍जालमार्फत नै स्पष्टिकरण दिएका थिए । उनले अर्को कार्यकाल दोहोरिए थप सुधार गर्न सकिने भन्दै दोहोर्‍याउनुपर्नेमा इच्छा व्यक्त गरेका छन् ।

तर, स्रोतका अनुसार घिसिङ नै पुन: नियुक्ति पाउने लगभग निश्चित भएको छ । उनको नयाँ कार्यकाल चार वर्षको नै हुने स्रोतको दाबी छ । स्रोतले भन्‍यो, “ऊर्जामन्त्री वर्षमान पुनले घिसिङलाई थप चार वर्ष निरन्तरता दिने गरी मन्त्रिपरिषद्को आगामी बैठकमा प्रस्ताव लैजानु हुनेछ ।”

लामो समय अन्धकारमा रहेको नेपाल अथवा १८ घण्टाको लोडसेडिङलाई अन्त्य गरेका घिसिङलाई दोहोर्‍याउनुपर्नेमा पनि चौतर्फी माग उठिरहेको छ ।

लोडसेडिङ हटाउन सफल भएपछि घिसिङलाई उनको र उनलाई उक्त जिम्मेवारी दिने तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माको चर्चा चुलिएको थियो । सरकार र सत्ताधारी दलका केही नेता त्यसमा पनि प्रधानमन्त्री पनि उनलाई दोहोर्‍याउने पक्षमा नरहेको र पूर्वमाओवादी पक्षले दोहोर्‍याउनुपर्नेमा दबाब दिएका थिए ।

उक्त दबाबपछि ओली पनि घिसिङप्रति सकारात्मक बनेपछि नै मन्त्री पुनले घिसिङलाई निरन्तरता दिने प्रक्रिया अघि बढाउन तयार भएको स्रोतले बताएको छ ।

तर, बालुवाटर स्रोतले भने यस विषयमा प्रधानमन्त्रीले निर्णय गरी नसकेको बताएको छ । तर नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निकट व्यक्तिहरूले भने घिसिङको पक्षमा व्यापक जनमत देखिएको भन्दै उनको विकल्प खोज्दा पार्टी र सरकार थप आलोचनामा पर्ने विषयमा प्रधानबन्त्रीलाई बताएका छन् ।

आठ वर्षपछि २०८५ सम्ममा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने सरकारको लक्ष्यमा प्राप्तिको प्रमुख आधार तयार गर्ने अबको नयाँ कार्यकारी निर्देशकको मुख्य चुनौती घिसिङले विभिन्‍न सञ्‍चारमाध्यमहरुसँगको अन्तर्वार्तामा बताएका छन् ।

प्रतिक्रिया