काठमाडौं । लामो समयपछि नेपालमा पनि सोमबारदेखि आन्तरिक उडान सुरु भएको छ । करिब ६ महिना लामो लकडाउनपछि सोमबारबाट आन्तरिक उडान सुरु भएको छ । नेपालमा सेवा दिइरहेका विभिन्न नौवटा कम्पनीमध्ये आठवटाले सोमबारबाट सेवा सुरु गरेका हुन् । त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा स्वास्थ्य सावधानी र चेकजाँचको व्यवस्था मिलाइएको छ भने विश्व स्वास्थ्य संगठन, अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन (आइकाओ)ले बनाएको कोरोनासम्बन्धी प्रोटोकल पालना गरेर सेवा सञ्चालन गरिएको हो ।
कतिपयले उडानका क्रममा विमानभित्रैबाट कोरोना संक्रमण बढ्न सक्ने चिन्ता व्यक्त गरिरहेकै बेलामा अन्तर्राष्ट्रिय विज्ञहरुले भने कोरोना संक्रमण विमानभित्र सोचेभन्दा कम रहेको देखिएको बताएका छन् । चारैतिरको ढोका बन्द गरिएको साँघुरो ठाउँमा अन्जान व्यक्तिहरुबीच बस्नुपर्ने हुनाले पनि धेरैलाई अहिलेको अनिश्चित अवस्थामा विमान भित्रको माहोल एकदमै असुरक्षित लाग्न सक्छ ।
तर उडानका समयमा संक्रमण फैलने सम्बन्धी विज्ञहरुले गरेको अध्ययन एवम् विश्लेषणमा, विमानभित्र कोभिड–१९ संक्रमित हुने सम्भावना वास्तवमा हामीले सोचेभन्दा कम रहेको देखिएको सीएनएनमा प्रकाशित एक समाचारमा उल्लेख छ ।
प्रकाशित समाचारअनुसार महामारीकै कारण यात्रुहरु उडान गर्न डराइरहेकाले विश्वव्यापी हवाइ ट्राफिकमा ऐतिहासिक गिरावट आएको छ र कतिपय स्थानमा सीमाक्षेत्र बन्द गरिनाले पनि हवाइ सेवा प्रभावित भएका छन् । तर वैज्ञानिकहरुले गरेको यो नयाँ दाबी मान्ने हो भने विमानभित्र बस्दाका जोखिम धेरै कम छन् ।
जस्तै एउटा घटनामा मार्च ३१ का दिन अमेरिकाबाट ताइवान उडेको विमानमा १२ जनामा कोरोनाको लक्षण रहेको पत्ता लाग्यो । त्यसपछि विमानका कर्मचारीसहित सम्पूर्ण ३२८ यात्रुहरुको कोरोना परीक्षण गरियो । र, उनीहरु सबैमा कोरोना नेगेटिभ देखिएको हो । यस्ता धेरै घटना छन् जसले विमानमा कोरोनाका जोखिमको दर कम रहेको संकेत दिएको छ । तर महामारीको सुरुवातमा संक्रमित यात्रुहरुबाट विमानका चालक वा यात्रुमा भाइरस सरेकाबारे पनि धेरै खबर आएको थियो । तापनि वैज्ञानिक विश्लेषण हेर्दा यसको दर एकदम कम रहेको पाइएको छ ।
केही समय अगाडि ‘जाभा नेटवर्क ओपन’ मा प्रकाशित एक ‘मेडिकल जर्नल’ ले तेल अभिभदेखि फ्र्याङ्कफ्रटसम्म उडेको विमानबाट कोरोना संक्रमण फैलिएको प्रमाण फेला पारेको थियो । सो विमानबाट यात्रा गरिसकेपछि दुईजना संक्रमितले पर्यटकहरुको अर्को एउटा समूह र उनीहरुसँग सम्पर्कमा आएका होटलका म्यानेजरसहितलाई संक्रमण भएको युनिभर्सिटी अफ फ्रयांकफ्रटको मेडिकल भाइरोलोजीका अनुसन्धानकर्ताहरुले पत्ता लगाएका हुन् ।
यसबाहेक गत मार्च २ मा युकेबाट भियतनाम उडेको विमानमा एकजना यात्रुले १४ अन्य यात्रुलाई संक्रमित गराएका थिए । तर हवाइ उडानकै कारण धेरै व्यक्तिमा संक्रमण फैलिएको यो अहिलेसम्मकै पहिलो र अन्तिम घटना भएको बताइएको छ । साथै अहिलेका प्रायः आधुनिक विमानका क्याबिनहरुमा प्रत्येक दुईदेखि तीन मिनेटमा ताजा हावा निस्किरहने प्रणाली हुन्छ जसले पनि संक्रमणको सम्भावना कम गराउने विज्ञहरुले बताएका छन् ।
त्यसैगरी मानव साुमदाय कोभिड–१९ सँग दिनदिनै परिचित हुँदै गएकाले पनि अहिले अपनाउन थालिएका विभिन्न नयाँ नियमहरु, जस्तै सबै यात्रुलाई मास्क अनिवार्य गर्ने, तापमान परीक्षण गर्ने, क्याबिनको नियमित सफाइ अनि डिस्इन्फेक्ट गर्ने र उडानका समयमा यात्रुहरुको हलचल सीमित गराउनाले पनि सुरुवातमा भन्दा अहिले संक्रमणको खतरा धेरै कम गराएको छ ।
तथ्याङ्क सम्बन्धी विषयका वरिष्ठ प्रोफेसर आनोल्ड बार्नेटका अनुसार ती नियमहरुका साथै विमानले बीचका सिट खालि राख्ने नीति पनि लागू गर्ने हो भने भाइरस फैलने सम्भावना झनै दुर्लभ बन्न पुग्नेछ । यसअघि उनले गरेको खोजमा के पत्ता लागेको थियो भने सबै यात्रुले हरेक समय मास्क लगाइरहने हो भने छोटो उडानमा विमानलाई पूरै भर्दा पनि ४३,०० मा केबल एकजना मात्र संक्रमित हुने जोखिम रहनेछ । र यसैमा बीचका सिट खालि राख्ने हो भने त ७ हजारमा एक जना संक्रमित हुने सम्भावना रहेको उनले बताए ।
प्रोफेसर बार्नेटले भनेका छन्, “विशेषगरी छोटो दुरीमा, यदि विमानमा यात्रा गर्नाले कोही कोभिडबाट संक्रमित भएको छ भने यसमा तीनवटा गलती भएकाबारे बुझ्नुपर्ने हुन्छ । पहिलो, सो विमानमा चढेका यात्रुहरुमा कोही न कोही कोभिडका बिरामी थिए र सो बिरामी अत्यन्तै संक्रमक भएको हुनुपर्छ । तर यति हुँदाहुँदै पनि ती संक्रमितले मास्क लगाएका छन् भने यसले धेरै हदसम्म भाइरसलाई फैलनबाट रोक्न सक्छ । त्यसैले यात्रुहरुलाई मास्क अनिवार्य नगर्नु दोस्रो ठूलो गल्ती हुनेछ । र तेस्रोमा हामी त्यो बिरामीको नजिक बसेका छौँ भने नै संक्रमित हुने जोखिममा रहनेछौँ नत्र हामी यसबाट त्यति प्रभावित नहुन पनि सक्छौँ । यसरी पहिचान नगरि बिरामी यात्रुलाई लिनु, मास्क अनिवार्य नगर्नु अनि उनीसँग आवश्यक सामाजिक दुरी नअपनाइएको अवस्थाले उडानका क्रममा संक्रमणको खतरा बढाउँछ ।”
त्यसैले हवाइ यात्रामा भाइरसको समस्त जोखिम यिनै कुराले निर्धारित गर्ने हुँदा जुनसुकै विमानले पनि यस्ता गलती सजिलै सच्याएर उडानलाई सुरक्षित बनाउन सक्ने बार्नेटले बताए ।
प्रतिक्रिया