Pura Samachar

धेरै पीसीआर परीक्षण गर्न नसक्ने बाध्यतामा छौं : स्वास्थ्यमन्त्री ढकाल

प्रकाशित: June 8, 2020

धेरै पीसीआर परीक्षण गर्न नसक्ने बाध्यतामा छौं : स्वास्थ्यमन्त्री ढकाल

२६ जेठ, काठमाडौं

असार १५ पछि दिनमा १० हजार परीक्षण गर्न सक्छौं

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले असार १५ अघि कोरोना भाइरस संक्रमण परीक्षणको दर बढाउन नसक्ने बाध्यतामा रहेको बताएका छन् ।

अहिले नै आवश्यकताअनुसार पीसीआर परीक्षण गर्ने क्षमता नभएको भन्दै उनले असार १५ गतेदेखि दिनमा १० हजार स्वाब परीक्षण गर्न सक्ने बताए ।

‘एउटा दुईटा गर्दै दिनमा ४७ सय परीक्षण गर्न सक्ने ठाउँमा छौं । असार १५ सम्म १० हजार पीसीआर रिपोर्ट दिन सक्ने अवस्थामा पुग्नेछौं’ सोमबार प्रतिनिधिसभामा मन्त्रालयगत बजेट छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले भने ।

मन्त्री ढकालले सात प्रदेशमा एकै साथ ठूला मेसिन किन्ने योजना बनाएको उनले सुनाए ।

अहिले नेपालमा १ लाख भन्दा बढीको पीसीआर परीक्षण भएको भन्दै मन्त्री ढकालले नेपालको परीक्षणको अवस्था एसियामै राम्रो रहेको बताए ।

‘एसियाको स्तरमा हामी निकै राम्रो ठाउँमा छौं, प्रति दश लाख ३३३७ मा परीक्षण गरेका छौं’ उनले भने ।

आरडीटी विधिको परीक्षणलाई नेपालमा मान्यता नदिएको भन्दै मन्त्री ढकालले १४ दिन क्वारेन्टिनमा बसेपछि एन्टीबडी छ कि छैन भनेर मात्र आरडीटी परीक्षण गरेको बताए ।

१४ दिनपछि महामारी फैलाउन सक्दैनन्

मन्त्री ढकालले कोरोना संक्रमित व्यक्तिले १० दिनपछि समुदायमा कोरोना भाइरस फैलाउन नसक्ने हुनाले क्वारेन्टिनबाट पीसीआर परीक्षणबिनै घर पठाइएको बताए ।

‘डब्लुएचओले प्रोटोकल अगाडि सारेको छ । सामान्यतया महामारी फैलाउन सक्ने क्षमता २ देखि १० दिनसम्म रहन्छ । १० दिनपछि रोगी भए पनि अरुलाई संक्रमण फैलाउन सक्दैन’ उनले भने ‘त्यसैले १४ दिन क्वारेन्टिनमा राख्न सक्यौं भने त्यसबाट अरु जोखिममा हुँदैनन् । तर उ आफैंमा प्रतिरोधी क्षमता विकास भएको छ कि छैन भनेर हेर्न आरडीटी परीक्षण गरेर घर पठाउने गरिएको हो ।’

१० अर्ब कहाँ खर्च भयो ?

मन्त्री ढकालले कोरोना महामरी रोकथामका लागि अहिलेसम्म भएको खर्च विवरण पनि संक्षिप्तमा बताए । उनले कोरोना महामारी रोकथामका लागि स्वास्थ्य मन्त्रालयले हालसम्म २ अर्ब ९२ करोड ५५ लाख ७९ हजार रुपैयाँ खर्च गरेको बताए ।

त्यस्तै ६ सय ४१ स्थानीय तहले क्वारेन्टिन व्यवस्थापनलगायतको काममा २ सय ७६ करोड रुपैयाँ खर्च गरेको उनले बताए । मन्त्री ढकालका अनुसार एक सय ८ करोड प्रदेश सरकारले गरेको र ६ सय ३ करोड केन्द्र सरकारले गरेको छ ।

उनले कोरोना महामारी रोकथामका लागि भएको खर्च पारदर्शी भएको जिकिर गरे । ‘राज्यको निकायबाट भएकाले पारदर्शी छन् । जतिखेर पनि हेर्न सकिन्छ’ उनले भने ।

प्रतिक्रिया