काठमाडौं : कृषिमन्त्री घनश्याम भुसालले हरेक नेपालीले पर्याप्त खान पाउने उद्देश्य कृषिको हुने बताएका छन्। प्रतिनिधि सभाको सोमवारको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत मन्त्रालयगत बजेट छलफलमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री भुसालले नेपाली जातले गुणस्तरीय र पोषिलो खानेकुरा खाने बताएका हुन्।
‘हाम्रो कृषिको उद्देश्य भनेको हरेक नेपालीले पर्याप्त खानेछ। गुणस्तरीय खानेछ। पोषिलो कुरा खानेछ, ‘ कृषिमन्त्री भुसालले भने, यो नेपाली जातले अघाउजी खानेछ। तीन छाक खानेछ। बच्चाबच्चीले पाँच छाक खानेछ। सबै छोराछोरीले खानेछ। फलफूल खानेछ। मासु खानेछ। भोकले कोही उठ्ने छैन। निद्रा पुगेरमात्र उठ्नेछ।’
यसरी आत्मनिर्भर बन्न भने देशलाई केही वर्ष लाग्ने उनले बताए। त्यसपछि निर्यातको कुरासमेत गर्न सकिने भुसालको तर्क थियो। ‘पाँच सात वर्ष लाग्ल। यस्तो हुन। त्यो भन्दा अघि कृषि निर्यातको कुरा नहोला। ठुलो योगदान आजै गरिहाल्दैन।’
कृषि आधुनिकीकरणमा राजनीतिकरण हुँदैन
मन्त्री भुसालले प्रधानमन्त्री कृषि आधुनिकीकरणमा अब ‘छुद्र राजनीतिकरण ’ नहुने प्रतिवद्धतासमेत जनाए।
उनले अब प्रधानमन्त्री कृषि आधुनिकीकरणका कार्यक्रममा राजनीतिकरण नहुने जनाउँदै विगतमा प्रधानमन्त्री कृषि आधुनिकीकरणका कार्यक्रममा राजनीति गरिएको, अनावश्यक गुटकरण गरेर विगार्ने काम भएको उल्लेख गरे।
मन्त्री भुसालले भने, ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना हामीले बिगार्यौ। सबै मिलेर बिगार्यौ। अनावश्यक राजनीतिकरण र गुटकरण गरेर त्यसलाई ध्वस्त पार्यौ हामीले। हाम्रै आफ्नै सबैभन्दा ठूलो प्रोजेक्ट भएकाले त्यसलाई नफाल्ने निर्णय गरेको हो। राम्रो बनाउन लागेका छौ। अब जस्ले गर्छ त्यसले मात्रै सरकारको अनुदान पाउँछ। अब छुद्र राजनीतिकरण हुदैन। कृषि मन्त्रालयबाट दिने कुरामा कम्तीमा यति विश्वास गर्नुहोस्। यदि कमिसनखोरीकै सत्ता चलेको हो भने अब त्यो कमिसनखोरीको आयु पुरा भयो भनेर हामीले हेर्ने हो।’
उनले आफु बिग्रिएको स्थिति सुधार गर्न आएको पनि स्पष्ट पार्दै परियोजनामा सांसदहरुले नै करोडौ रुपैया लगेको भन्ने सांसहरुको जिज्ञासामा भने, ‘सांसदहरु पनि करोडौमा लागे। त्यस्तो भयो होला भन्नका लागि म संग प्रमाण छैन। केही रेकर्डहरु छैन। मन्त्रालयमा केही छैन। पुराना कागज छैन। रेकर्ड खोज्यो छैन। स्थिति त्यस्तो छ।’
मन्त्री भुसालले किसानलाई पेन्सन दिनेबारे निर्णय गर्नुपूर्व वास्तविक किसानको तथ्यांक संकलन गर्नुपर्ने आवश्यकता रहेको बताए।
कृषि उद्योगको नारा लगाईरहेपनि कृषिको औद्योगिकरणको बाटोमा हिड्न नसकिएको स्वीकार गरे। सांसदहरु पद्मनारायण चौधरी, प्रेम सुवालले मन्त्रीको जवाफमा थप स्पष्टिकरण मागेका थिए।
प्रतिक्रिया