Pura Samachar

जोरविजोर प्रणालीमार्फत सवारी एक जिल्लाबाट अर्कोमा जान नपाउने

प्रकाशित: June 12, 2020

जोरविजोर प्रणालीमार्फत सवारी एक जिल्लाबाट अर्कोमा जान नपाउने

काठमाण्डौ । सरकारले हिजो(बिहीबार)देखि लागू हुने गरी जोरविजोर प्रणालीमार्फत निजी सवारी साधन चलाउन दिने निर्णय गरेको छ । यो निर्णयपछि धेरैलाई निजी सवारी साधनबाटै एक जिल्लाबाट अर्को जिल्लामा जान सकिन्छ भन्ने लागेको हुन्छ । तर, यो सत्य होइन । सरकारले जोरविजोर प्रणालीअनुसार निजी सवारी साधनलाई चल्न दिने निर्णय गरे पनि त्यस्ता साधनको आवागमन जिल्लाभित्रै सीमित गरिएको छ ।

बुधबार बसेको मन्त्रीपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले मोटरसाइकल, साइकल र निजी चार पांग्रे सवारी चल्न दिने निर्णय गरिएको बताए । उनका अनुसार यस्ता सवारी साधन जोरविजोर प्रणालीअनुसार चलाउनुपर्नेछ । यसरी चलाउँदा एक जिल्लाका सवारी साधन अर्को जिल्लामा लैजान पाइनेछैन ।

काठमाण्डौ उपत्यकाको हकमा भने जिल्लाको यो नियम लागू हुने छैन । अर्थात, काठमाण्डौ, भक्तपुर र ललितपुरमा निजी सवारी साधनहरु जोरविजोरको नियम पालना गरी कुदाउन पाइनेछ ।

तर, उपत्यका बाहेकका जिल्लाका हकमा सोही जिल्लाको सीमाभित्र मात्रै तोकिएको मापदण्ड पालना गरी निजी सवारी कुदाउन पाइनेछ ।

सरकारले निजी कारमा चालक बाहेक २ जना र मोटरसाइकलमा एकजना(चालक मात्र) चढ्न पाउने मापदण्ड तोकेको छ । यो मापदण्ड उल्लंघन गर्नेलाई ट्राफिक नियमअनुसार कारबाही हुने बताइएको छ ।

प्रतिक्रिया