Pura Samachar

पर्वतमा पहिरोले तीन घर बगाउँदा तीनजनाको मृत्यु, छजना बेपत्ता

प्रकाशित: June 14, 2020

पर्वतमा पहिरोले तीन घर बगाउँदा तीनजनाको मृत्यु, छजना बेपत्ता

जेठ ३२, २०७७ पर्वत : पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा पहिरोमा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ। शनिवार राति करिब साढे ८ बजे आएको पहिरोमा दुई घर परेको र नौजना बेपत्ता भएका थिए। तीमध्ये तीनजनाको शव राति नै पुरिएको अवस्थामा फेला परेको थियो। पहिरो घरभन्दा झन्डै ३०० मिटर माथिबाट आएको छ। आइतबार बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले उद्धार कार्य गरेपछि बेपत्ता रहेका ३२ वर्षीया कमला विक र ३० वर्षीय दिर्पा थापाको शव फेला पारेको स्थानीय प्रभु गुरुङले जानकारी दिए। पहिरोमा पुरिएकामध्ये ५२ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती ५२ वर्षीया मीनकुमारी र नातिनी आठ वर्षीया बिबिशाको शव भने शनिवार राति नै फेला पारिएको थियो। बेपत्ता हुनेहरू मृतक कमलाका १६ वर्षीय छोरा जेनिस, छोरी सात वर्षीया प्रमिशा रहेका छन्। यस्तै, मृतक तुलबहादुरको परिवारका १४ वर्षीय सम्राट थापा र १७ वर्षीय विवेक थापा  रहेका छन्। राति उद्धारमा कठिनाइ भएपछि आइतबार बिहानदेखि उद्धार कार्य सुरु गरिऐका छ। एक्साभेटर सहायताले उद्धार सुरु गर्ने भनिएकोमा बिहानैदेखि भएको वर्षाका कारण ढिलो गरी उद्धार सुरु भएको हो। अहिले भने वर्षा रोकिएका कारण उद्धारमा सहज भएको छ। स्थानीय प्रभु गुरुङका अनुसार पहिरो गएको स्थान सडकभन्दा धेरै तल रहेका कारण घटनास्थलमा एक्साभेटर जाने सम्भावना नभएकाले मानिसले उद्धार गरिरहेका छन्।  जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीका अनुसार पहिरोमा परेका तीन घरमध्ये दुई घरमा मानवीय क्षति भएको हो।  शनिवार साँझ ६ बजेदेखि झन्डै दुई घण्टासम्म परेको भीषण वर्षापछि पहिरो झरेको हो। घरहरू पुरिएको नजिकै रहेका अन्य चार परिवारका सदस्यहरूलाई राति नै सुरक्षित स्थानमा सारिएको छ। वडाध्यक्ष तेजप्रसाद पाध्याका अनुसार थप पहिरो आउन सक्ने भएकोले पहिरोको छेउछाउमा परेका परिवारलाई राति नै नजिकै रहेको होमस्टेमा राखिएको हो।

प्रतिक्रिया