Pura Samachar

ओलीको चेतावनी प्रतिनिधिसभा विघटन सदर नभए आन्दोलनमा जाने

प्रकाशित: February 21, 2021
पूरा समाचार

ओलीको चेतावनी प्रतिनिधिसभा विघटन सदर नभए आन्दोलनमा जाने

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन अदालतबाट सदर नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् । शनिबार विराटनगरमा आफूपक्षको आमसभामा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो चेतावनी दिएका हुन् ।

प्रतिनिधिसभा विघटन सदर गराउन ‘सेटिङ’ गरिरहेको भन्दै अरू राजनीतिक दलले आरोप लगाइरहेका बेला उनले भने संसद पुनर्स्थापनाका लागि ‘सेटिङ’ भइरहेको दाबी गरे । उनले भने, ‘कुनै सेटिङ–फेटिङ भएर संसद विघटन सदर भएन भने आन्दोलनको विकल्प छैन ।’

प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा वैद्य र डाक्टरको लिएको र उनीहरुले छाडेपछि अहिले झाँक्रीको साथ लिएको भन्दै कटाक्ष गरे । उनले भने, ‘उहाँलाई वैद्यले छाडे, त्यसपछि डाक्टर लिनुभयो, डाक्टरले छाडेपछि अहिले झाँक्री लिनुभएको छ, अब झाक्रीले उहाँलाई बचाउन सक्दैन ।’

प्रधानमन्त्री ओलीले सिद्धिन लागेका प्रचण्डलाई आफूले उद्धार गरेको र त्यसैले अहंकार बढेको बताए । उनले भने, ‘दुई/चार सिटमा खुम्चिन लागेका, सिद्धिसकेका प्रचण्डको जुरो हालें, सिङ हालें । त्यसैले अहंकार चढ्यो । हामीलाई नै सिध्याउन थाल्नुभयो ।’

त्यस्तै उनले उपराष्ट्रपति नन्दकिशोर पुनले सरकारको विरोध गरी भाषण गर्दै हिँडेको आरोप लगाए । ‘उपराष्ट्रपति सरकारविरुद्ध भाषण गर्दै हिँड्नु भएको छ । उहाँको पदले भाषण गर्दै हिड्ने, सरकारको विरोध गर्दै हिड्ने अधिकार दिएको छैन,’ उनले भने ।

प्रतिक्रिया