Pura Samachar
  • अब आउँदा दिन शुभ रहुन् !

    प्रकाशित: ४ हप्ता पहिले

    अब आउँदा दिन शुभ रहुन् !

    – डा.डीआर उपाध्याय 

    हामी २०७७ साललाई बिदा गरेर २०७८ सालमा प्रवेश गरेका छौं ।

    राजनीतिक रूपमा २०७७ साल त्यति सुखद रहेन ।

    सरकारले जुन किसिमले विकास र समृद्धिको नारा अघि सारेको थियो, त्यस अनुसार द्रुत गतिमा अघि बढ्न सकेन ।

    अझै पनि नागरिकहरू महँगीको मारबाट पीडित छन् ।

    सर्वसाधारणले सेवा प्रवाह र सुशासनको प्रभावकारी कार्यान्वयन भएको महसुस गर्न पाएका छैनन् ।

    अहिले जनता किन वाक्क दिक्क छन् ?

    जनतामा निराशा बढेर गएको छ ।

    जनतामा निराशा आउन दिनु हुँदैन ।

    जनता निराश भए भने देशलाई राम्रो हुँदैन ।

    निराशा र अभावले विद्रोह जन्माउँछ ।

    यो विषयमा हामी सबै गम्भिर बनौं ।

    विगतमा पनि अभाव र असन्तुष्टिले जनता विद्रोहमा उत्रिएका थिए ।

    अब त्यस्तो स्थिती आउन दिनु हुँदैन ।

    अब सरकारले गम्भीर भएर सोच्नुपर्छ ।

    गत वर्ष राजनीतिक मुद्धा विवादमा परे ।

    सरकारले ल्याएका विधेयक विवादित भए । पार्टी भित्र आन्तरिक राजनीतिक विवाद चर्किएर सर्बोच्चको फैसलापछि अन्ततः नेकपा माओवादी केन्द्र र एमाले पुरानै अवस्थामा फर्किए ।

    सत्तारुढ दलले आन्तरिक बिवादमा फसेर अधिकांश समय अनाबश्यक बितायो ।

    नेताहरु देश र जनताको हित भन्दा आफनो व्यक्तिगत स्वार्थमा बढी केन्द्रित बने ।

    देश विकास गर्नुपर्ने समयमा नेताहरु अनावश्यक कुरामा अल्झिए ।

    देश र जनताको हक हित र इज्यतका लागी राजनीति गरेको हो भन्दै भाषण चर्काउँदै हिंड्ने तर व्यवहारमा सिन्को समेत नभाँच्ने नेताहरु पनि हामीले देखेका छौं ।

    लोकतन्त्रमा बोल्न, लेख्न पाइन्छ तर जनताको अपमान गर्न पाइँदैन ।

    राजनीतिक दलहरुले जनताको अपमान गदै आएका छन् ।

    यसरी देश बनाउन सकिंदैन ।

    जनतालाई असन्तुष्ट राखेर गरेको राजनीति टिकाउ र दिर्घकालिन हुँदैन ।

    यो कुरा नेताहरुले राम्रोसंग बुन जरुरी छ ।

    अहिले देशमा जुन किसिमको राजनीति गतिविधि भैरहेका छन्, त्यसले लोकतन्त्रको धज्जी उडाउने काम मात्र भएको छ ।

    केपी ओली नेतृत्वको यो सरकारबाट तीन वर्ष अगाडि नागरिकले ठूलो अपेक्षा राखेका थिए ।

    तर जनताले अपेक्षा गरे अनुसार यो सरकारले काम गर्न सकेन ।

    काम गर्न नै सकेन भन्न त मिल्दैन ।

    ओली सरकारले काम गर्न खोजेको हो, तर आफनो पार्टी भित्रको आन्तरिक विवाद र खुट्टा तान्र्ने प्रवृतिले गर्दा जनताले अपेक्षा गरे अनुसार काम नभएको यथार्थ हो ।

    श्रमजीवि नेपाली जनताको चुलो राम्रो संग बोलेको छैन ।

    कारण के हो भने महँगीले आकाश छोएको छ ।

    देशमा काला बजारी व्याप्त छ ।

    करका दायरा बढाइएको छ ।

    पेट्रोलियम पदार्थको मूल्यमा पटकपटक वृद्घि गरिएको छ ।

    युवाहरुलाई रोजगारीको कुनै अवसर छैन ।

    प्रत्येक दिन १५ सयको हाराहारीमा युवा विदेसिएका छन् ।

    विशेष गरेर ग्रामिण भेगतिर युवाहरुको अभावले खेतबारी बाँझिएका छन् ।

    कुनै पनि नयाँ उद्योग खोलिएको छैन ।

    यस्तो छ देशको अवस्था ।

    देश फेरि अस्थिर राजनीतिक भुमरीमा पर्ने संकेत देखिएको छ ।

    राजनीतिक दलका सीमित नेताहरुको अदूरदर्शी, गैरजिम्मेवारी एवं गुटगत राजनीतिक अभ्यासका कारण हामी नागरिकहरूले अनावश्यक दुःख पाइरहेका छौं ।

    देशको राजनीति अहिले सहि गतिमा अघि बढन सकेको छैन ।

    जनतामा राजनीतिप्रति बितृषणा बढिरहेको छ ।

    देश चलाउन भिजन चाहिन्छ ।

    चुस्त प्रशासनिक संयन्त्र चाहिन्छ ।

    राज्यले कर्मचारीतन्त्रलाई चुस्त, दुरुस्त, सेवामुखी एवं विकासमुखी बनाउन सकेको छैन ।

    हाम्रो देशमा प्रजातन्त्रको पुनस्र्थापना पछाडिका ३० वर्षमा जनताले के पाए ?

    मुलुकका समस्याहरू ज्यूँका त्यूँ छन् ।

    जनतालाई दुई छाक टार्न समस्या छ ।

    समिक्षा गर्नु पर्ने बेला आएको छ ।

    २०७८ सालमा जनताको मुहारमा खुसी आउने काम हुन सकोस् ।

    अब आउँदा दिन शुभ रहुन् ।

    बैशाख २ 

    प्रतिक्रिया