Pura Samachar

१० अर्ब खोज्‍नेलाई प्रधानमन्त्रीको जवाफ : हिसाब गर्न त मलाई पनि आउँछ

प्रकाशित: June 19, 2020

१० अर्ब खोज्‍नेलाई प्रधानमन्त्रीको जवाफ : हिसाब गर्न त मलाई पनि आउँछ

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संकटको बेलामा सरकारलाई अफ्ठ्यारो पार्न १० अर्ब रुपैयाँको कुरा उछालिरहेको बताएका छन्। राष्ट्रियसभामा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा बोल्दै प्रधानमन्त्री ओलीले यसो भनेका हुन्। ‘१० अर्ब उछाल्नेहरुलाई भन्दैछु, त्यो खर्च तलसम्म पठाइएको छ। कोरोना नियन्त्रणमा खर्च भइरहेको छ’, उनले भने, ‘जनप्रतिनिधिले पैसा खाए भनिदिन सजिलो छ। तर अहिलेको संकटमा कसरी काम भइरहेको छ, त्यो पनि बुझौँ।’ ओलीले १० अर्ब खोज्‍नेलाई मिल्ने भए अहिले नै देखाइदिने बताए। ‘१० अर्ब यहाँ छ भनेर देखाइदिने थिएँ मसँग भए त। जनप्रतिनिधिको कामको कदर गर्नुको साटो लान्छना लगाइएको छ’, उनले भने, ‘अहिले भएको खर्चको मसिनो हिसाब किताब हुन्छ। लेखा परीक्षण हुन्छ, महालेखा परीक्षक छ। सबै हिसाब किता सार्वजनिक हुन्छ।’ उनले हरेक मान्छेलाई हिसाब किताब चाहिएको भन्दै आन्दोलन गर्नेप्रति कटाक्ष गरे। ‘मान्छे काममा लागेका छन् तर हरेक मानिसलाई हिसाब चाहिएको छ’, उनले भने, ‘काममा ध्यान दिनेभन्दा परिस्थितिको गम्भीरतालाई ध्यान दिनेभन्दा हिसाब किताव चाहिएको छ।’ ओलीले कोरोना नियन्त्रणको रकम मात्रै होइन अरु सबै पैसाको हिसाब हुने बताए। ‘अहिले छुट्याइएको १४ खर्ब बजेटको पनि हिसाब किताब हुन्छ। महालेखाले सबै निकाल्छ’, उनले भने, ‘नियमितता अनियमितता सबै छानबिन हुन्छ।’ उनले भ्रष्ट भएरै कोही नजन्मिने बताए। ‘भ्रष्ट भएर कोही जन्मिँदैन, सबैलाई भ्रष्ट भन्नु पनि हुँदैन’, उनले भने, ‘सरकारमा भएकाको जसरी पनि चरित्र हत्या गर्नेतिर लागिएको छ। कसैलाई भ्रष्टाचार गर्न दिँदैनौं, कहीँ भएको छ भने कारवाही हुन्छ।’ उनले शंका लागेर मात्रै होइन, नलागेर पनि हिसाब किताब दुरुस्त राखिनुपर्ने बताए। ‘शंका नलागेर पनि हिसाब किताब चुस्त हुनुपर्छ। हिसाब किताब गर्न त मलाई पनि आउँछ’, उनले भने, ‘कि सबै नेपाली जनता जाने त क्‍वारेन्टाइनमा जाँच्न, भ्रष्टाचार भएको हेर्न।’ उनले स्वास्थ्य सामग्री छिटो किन्न दबाब दिनेहरुले नै भ्रष्टाचार गरेको आरोप लगाएको बताए। ‘बिरामी मर्न लाग्यो, छिटो किन भने अनि किनिसकेपछि भ्रष्टाचार आरोप लगाउने ?’, उनले भने, ‘कोही आफू कमाउने धन्धामा लाग्छ भने त्यस्तालाई कडा भन्दा कडा कारवाही हुन्छ।’

प्रतिक्रिया