Pura Samachar

बितेको २४ घण्टाभित्र विश्वमा एक लाख ८३ हजार जना कोरोना संक्रमित फेला

प्रकाशित: June 22, 2020
पूरा समाचार

बितेको २४ घण्टाभित्र विश्वमा एक लाख ८३ हजार जना कोरोना संक्रमित फेला

असार ८, २०७७ काठमाडौं : बितेको २४ घण्टाभित्र विश्वमा एक लाख ८३ हजार जना कोरोना संक्रमित फेला परेका छन्। यसअघि एकैदिन यति धेरै संख्यामा थप संक्रमित भेटिएका थिएनन। हिजो फेला परेका कोरोना संक्रमितको संख्याले अहिलेसम्मकै रेकर्ड तोडेको छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले एकैदिनमा अहिलेसम्मकै सर्वाधिक संक्रमणका नयाँ मामिला पुष्टि गरेको छ। हिजो भेटिएका एक लाख ८३ हजार संक्रमितमध्ये ६० प्रतिशतभन्दा बढी उत्तर र दक्षिण अमेरिकाकै छन्। यी दुई महादेशका विभिन्न मुलुकहरुले लकडाउन खुकुलो बनाउँदै गर्दा निकै ठूलो संख्यामा संक्रमित भेटिएका हुन्। अहिलेसम्म विश्वभर ८९ लाख २८ हजार ६५२ जना संक्रमित फेला परेका छन्। यीमध्ये चार लाख ६७ हजार ६७१ जनाको ज्यान गइसकेको छ। अमेरिकामा मात्रै अहिलेसम्म एक लाख १९ हजार ९७९ जना संक्रमितले ज्यान गुमाएका छन्। त्यहाँ हालसम्म २२ लाख ७९ हजार ८७५ जनामा संक्रमण भइसकेको छ। अमेरिकापछि ब्राजिल कोरोना महामारीको चपेटामा सबैभन्दा बढी दपेटिएको छ। त्यहाँ अहिलेसम्म १० लाख ८३ हजार ३४१ जनामा संक्रमित भेटिएका छन् भने ५० हजार ५९१ जनाको मृत्यु भएको छ। ब्राजिलमा मात्रै पछिल्लो एकैदिन ५४ हजार नयाँ संक्रमित भेटिएका थिए। जुन अहिलेसम्मकै धेरै हो। संक्रमण र मानवीय क्षतिको संख्याका हिसाबले पहिलो स्थानमा अमेरिका र दोस्रो स्थानमा ब्राजिल यथावत् छन्। विश्वभर महामारीको कुप्रभाव बढ्दै जाँदा विकसित मुलुकहरु गिर्दो अर्थव्यवस्थालाई लिएर निकै चिन्तित र हतारमा देखिएका छन्। बेलायतले आइतबारदेखि लण्डनमा व्यवसायिक हवाई उडान सुरु गरेको छ। कोरोना महामारी फैलिएपछि त्यहाँ पछिल्लो तीन महिनादेखि हवाई उडानमा प्रतिबन्ध लगाइएको थियो। मानिसहरु बीचको भौतिक दुरी दुई मिटरभन्दा कम राख्नेगरी ल्याउन लागिएको नयाँ नियमलाई केही दिनमै लागु हुन सक्ने त्यहाँका स्वास्थ्यमन्त्री म्याट हेनककले बताएका छन्। इराकका लोकप्रिय फुटबलर अहमद राधीको निधन भएको छ। उनलाई कोरोना संक्रमण भएको थियो। इराकमा अहिलेसम्म ३० हजार ८६८ जनामा संक्रमण देखिएको छ भने एक हजार १०० संक्रमितको ज्यान गएको छ। स्पेनले विदेशी पर्यटक आवागमन खुला गरेको छ। पर्यटन उद्योगलाई ब्यूँताउन भन्दै पर्यटकको आवागमनमा लगाइएको प्रतिबन्ध हटाइएको हो। तत्कालका लागि युरोपेली संघ, सेन्जेन मुलुक र बेलायतका पर्यटकहरु स्पेन जान सक्नेछन्। कोरोना महामारीको दोस्रो लहर देखिएको चीनमा पछिल्लो दिन पनि २५ जना नयाँ संक्रमित भेटिएका छन्। यी मध्ये २२ जना त राजधानी बेइजिङकै हुन्।

प्रतिक्रिया