Pura Samachar
  • कोभिड-१९ परीक्षण गर्ने छिटो र भरपर्दो तरिका

    प्रकाशित: १ महिना पहिले

    कोभिड-१९ परीक्षण गर्ने छिटो र भरपर्दो तरिका

    सिआर र एन्टिजेन परीक्षण अहिले प्रयोगमा रहेका कोभिड–१९  जाँच्ने चल्तीका प्रविधि हुन्। पिसिआर प्रविधीमा भाइरसको राइबोन्युरिकलक एसिड (आरएनए) को खोजी गरिन्छ। कुनै पनि स्वाबमा कोरोना भाइरस भएको खण्डमा पिसिआर प्रविधिले संक्रमण भए–नभएको थाहा हुने गरी आरएनएका प्रतिलिपि बनाउँछ। साधारणतया एउटा पिसिआर परीक्षण सिध्याउन ६ घन्टा लाग्छ। तर, यो समय परीक्षणको चाप र निष्कर्षहीन परीक्षण आदिका कारण लम्बिने गरेको पनि पाइन्छ।

    शरीरभित्र हुने आरएनए झिकेर परीक्षण गरिने पिसिआरको तुलनामा भाइरसको सतहमा हुने प्रोटीनको खोजी गर्ने एन्टिजेन परीक्षण छिटो छ। एन्टिजेन परीक्षण ले १५ मिनेट भित्र नतिजा दिन सक्छ। तर, यस परीक्षणले ‘फल्स नेगेटिभ’ संक्रमण भएका बेला पनि नभएको देखाउने गरेको पाइएकोले यसलाई खासै भरपर्दो मानिँदैन।

    यसरी हेर्दा कोरोना महामारी नियन्त्रणमा महत्वपूर्ण रहने परीक्षणमा आवश्यक गतिमा हुन सकेको छैन। भरपर्दो परीक्षण गर्न समय लाग्ने र समय नलाग्ने परीक्षण भरपर्दो नहुने समस्याका कारण महामारीसँगको विश्वको लडाइँ झन् जटिल हुँदै आएको थियो।

    तर, वैज्ञानिकहरूले छिटो र भरपर्दो परीक्षण विधि पत्ता लगाइसकेकाले परीक्षण विस्तारमा सजिलो हुने भएको छ। युनिभर्सिटी अफ इलनोइस सिकागो (युआइसी) का वैज्ञानिकहरूले ‘ग्राफिन’ नाम गरेको एक दह्रो एवम् पातलो पदार्थको प्रयोगबाट कोभिड–१९ को कारक सार्स–कोभ–२ कोरोना भाइरस पत्ता लगाउन सकिने निष्कर्ष निकालेका छन्। कोभिड–१९ र यसका भेरिएन्टहरूसँग जुध्न नयाँ विधि प्रभावकारी हुने वैज्ञानिकहरूको ठहर छ। ग्राफिन कोइला र हीराजस्तै कार्बनले बनेको एक पदार्थ हो।

    युनिभर्सिटी अफ इलनोइस सिकागो (युआइसी) का वैज्ञानिकहरूले ‘ग्राफिन’ नाम गरेको एक दह्रो एवम् पातलो पदार्थको प्रयोगबाट कोभिड–१९ को कारक सार्स–कोभ–२ कोरोना भाइरस पत्ता लगाउन सकिने निष्कर्ष निकालेका छन्।

    हुलाकी टिकटभन्दा १००० गुणा पातलो हुने ग्राफिनको पत्तालाई कारोना भाइरस संक्रमणमा मुख्य भूमिका हुने स्पाइक प्रोटिनसँग मिसाएर वैज्ञानिकहरूले परीक्षण गरेका थिए। त्यसपछि कोभिड–१९ पोजिटिभ र नेगेटिभ भएका फरक फरक नमूनामा ग्राफिनको पत्ता राख्दा हुने आणविक कम्पनलाई उनीहरूले मापन गरेका थिए। मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोमजस्ता कोरोना भाइरसका अन्य प्रजातिबाट हुने रोगमाथि पनि यो परीक्षण गरियो।

    युआइसीका वैज्ञानिकले खास कोभिड–१९ को परीक्षणका लागि तयार पारिएको ग्राफिनको पत्ता राख्दा कोभिड–१९ नेगेटिभ भएका र कोरोना भाइरसका अन्य प्रजाति भएका नमुनाहरूमा आणविक कम्पन नहुने, तर कोभिड–१९ पोजिटिभ भएको नमूनामा त्यस खालको कम्पन हुने पत्ता लगाए। यसरी तयार पारिएको ग्राफिनको पत्ताले कोभिड–१९ को नमूनाबाहेक अरूमा कम्पन नदिने भएकोले यसलाई अरू परीक्षण भन्दा सटिक मान्न सकिन्छ। उनीहरूले रमन स्पेक्ट्रोमिटरको प्रयोगबाट पाँच मिनेटमा आणविक कम्पन पत्ता लगाएका थिए। यो ‘र्यापिड’ अर्थात् छरितो भनिने एन्टिजेन परीक्षणभन्दा पनि छिटो हो।

    यी वैज्ञानिकहरूको खोज ‘एसिएस न्यानो’ जर्नलमा प्रकाशित भएको छ। ‘हामी वर्षौंदेखि ग्राफिनमा आधारित सेन्सरहरू बनाउँदै छौँ। हामीले क्यान्सर भएका कोषिका पत्ता लगाउने विधिको पनि विकास गरेका थियौँ,’ युआइसी कलेज अफ इन्जिनियरिङमा केमिकल इन्जिनियरिङका प्रमुख र उक्त अनुसन्धानमा संलग्न वैज्ञानिक विकास बेरीले भने, ‘छिटो र भरपर्दो कोभिड परीक्षण विधि अहिले आवश्यक छ, र हाम्रो अनुसन्धानले त्यस्तो विधि पत्ता लगाएको छ। हामीले विकास गरेको ग्राफिन सेन्सर कोभिड–१९ प्रति मात्र संवेदनशील छ, र यो छरितो र सस्तो पनि छ।’

    ‘क्लीनिकल परीक्षणका लागि हामीले विकास गरेको प्रविधी अहिले प्रयोगमा रहेका परीक्षण विधीभन्दा अब्बल छ,’ अनुसन्धानमा संलग्न अर्का वैज्ञानिक ग्यारेट लिन्डम्यानले भने।

    ग्राफिनमा भएका कार्बनका अणुहरूबीचको आकर्षण (बोन्ड) को लचकताका कारण मापन गर्न सकिने कम्पन सिर्जना हुने गर्छ जुन सेन्सर बनाउनका लागि अतिउपयोगी हुन्छ। कोभिड–१९ प्रति प्रतिक्रिया जनाउने क्रममा ग्राफिनमा मापन गर्न सकिने र निश्चित प्रकृतिको कम्पन सिर्जना हुने गर्छ।

    ‘हामीले एन्टिबडीको प्रयोगबाट ग्राफिनलाई कोभिड–१९ प्रति मात्र संवेदनशील हुने खालको बनाउन सफल भयौँ। यसरी नै कुनै पनि भेरिएन्टको एन्टिबडीको प्रयोगबाट ग्राफिनलाई त्यस भेरिएन्टप्रति मात्र संवेदनशील बनाई परीक्षण गर्न सकिन्छ,’ बेरीले भने।

    प्रतिक्रिया