काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई जिम्मेवारी थप गरेका छन्। हाल कायम रहेको ५ सदस्यीय मन्त्रीमण्डलमा ओलीले मन्त्रीहरुको जिम्मेवारी बढाएका हुन्। ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुको नयाँ जिम्मेवारी तोकेकी हुन्। अब एउटै मन्त्रीले ५ मन्त्रालय हाँक्ने भएको छ।
कसलाई कुन जिम्मेवारी?
ओलीले रक्षा र परराष्ट्र मन्त्रालयको जिम्मेवारी आफैसँग राखेका छन। उपप्रधानमन्त्री विष्णु पौडेललाई गृह मन्त्रालय सहित ४ मन्त्रालयको जिम्मेवारी दिइएको छ। अर्थ मन्त्री रहेका पौडेललाई गृह सहित उद्योग, वाणिज्य तथा आपूर्ति तथा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको जिम्मेवारी दिइएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठलाई वन तथा वातावरण, युवा तथा खेलकुद मन्त्रालयका साथै श्रम, रोजगार तथा सामाजिक सुरक्षा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ। श्रेष्ठले ५ मन्त्रालय हाँक्ने भएका हुन्।
यस्तै, वसन्तकुमार नेम्वाङलाई पनि ५ मन्त्रालयको जिम्मेवारी दिइएको छ। उनले कृषि तथा पशुपन्छी विकास,खानेपानी, भौतिक पूर्वाधार तथा यातायात, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालय पाएका छन्।
कानून, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका छन्।
प्रतिक्रिया