काठमाडौं । सत्तारुढ दल नेकपा एमालेमा केपी ओली गुटभित्र चरम असन्तुष्टि बढ्न थालेको छ । सत्ताधारी गुटको नेतृत्व गरिरहेका पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेरै केही नेताले माधव–झलनाथ गुटलाई पार्टीमा पुरानै हैसियत दिइएमा आफुहरुले विद्रोह गर्न सक्ने चेतावनी समेत दिएका छन् ।
ओलीको कार्यशैली प्रति असन्तुष्टि जनाउँदै सो समूहका केही नेताहरु बालुवाटार आउजाउ नै बन्द गर्न थालेको स्रोतको दाबी छ । प्रधानमन्त्री ओलीका निर्णयप्रति अदालतमा रिट पर्ने र अदालतले धेरैजसो फैसलामा अन्तरिम आदेश दिन थालेपछि सो समूहमा झन् असन्तुष्टि र विद्रोहसमेतको चेतावनी आउन थालेको बुझिएको छ ।
खासगरी आफ्नै पार्टीका माधव–झलनाथ समूहलाई भन्दा माओवादी छाडेर एमाले बन्न पुगेका नेतालाई बढी विश्वास गरेको, जसपाको महन्थ ठाकुर समूहलाई हैसियतभन्दा बढी अवसर र विश्वास दिएको, नियुक्ति र सरुवा बढुवामा आफ्नै गुटभित्र पनि सल्लाह नगरेको भन्दै ओली समूहमा असन्तुष्टि बढेको एक नेताले बताए ।
पछिल्लो समय प्रधानमन्त्री ओलीले आफ्ना विश्वासपात्र भनिएका सुवासचन्द्र नेम्वाङ, ईश्वर पोख्रेल, विष्णु पौडेलको समेत कुरा सुन्न छाडेको आरोप पार्टी नेताहरुले लगाएका छन् ।
प्रधानमन्त्रीले केही दिनदेखि जसापा अध्यक्ष महन्थ ठाकुर, माओवादीबाट एमाले बनेका रामबहादुर थापा, राजनीतिक सल्लाहकार विष्णु रिमाललगायतसँग मात्रै कुरा गर्न थालेको भन्दै ईश्वर पोख्रेल, सुवास नेम्वाङ, शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, कर्णबहादुर थापा, महेश बस्नेतलगायत नेताहरु ओलीसँग रिसाएको स्रोतको भनाई छ ।
यसअघि मन्त्रीपरिषद् विस्तार गर्दादेखि नै महेश बस्नेत, विशाल भट्टराई, राजेन्द्र राई, राजेन्द्र गौतमलगायत नेताहरु प्रधानमन्त्रीसँग खुशी थिएनन् । पछि उक्त मन्त्रीपरिषद् विस्तारविरुद्ध सर्वोच्च अदालतले नै अन्तरिम आदेश दिएपछि मन्त्री हुन गएका खगराज अधिकारी, रघुवीर महासेठलगायत नेता समेत ओलीको कच्चा निर्णयको शिकार हुनुपरेको भन्ने गुनासो गर्न थालेको बुझिएको छ ।
प्रतिक्रिया