काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक बोलाएका छन्। मंगलबार अपरान्ह ५ बजेका लागि ओलीले बैठक बोलाएका हुन्। बालुवाटारमा बैठक बोलाइएको एमालेको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।
बुधवारका लागि बोलाइएको १० औं महाधिवेशन आयोजक कमिटीको बैठक अगाडि ओलीले स्थायी कमिटीका नेताहरुसँग छलफल गर्न लागेका हुन्। सर्वोच्च अदालतले महाधिवेशन आयोजक कमिटीले सांसदहरुलाई कारवाही गर्न नसक्ने भन्दै आदेश दिएपछि महाधिवेशन आयोजक कमिटी विघटनको तयारी भइरहेको छ।
ओलीले फागुन २८ गते माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी लगायतलाई समेटेर २६४ जनाको महाधिवेशन आयोजक कमिटी बनाएका थिए। अदालतले आयोजक कमिटीको वैधानिकतामाथि प्रश्न उठाएका थियो।
वरिष्ठ नेता माधवकुमार नेपाल-झलनाथ खनाल समूहलाई समेत बैठकमा सहभागी गराउनका लागि २०७५ जेठ ३ गतेको माओवादी एमालेको एकता अघिको केन्द्रीय कमिटीको बैठक बोलाउने पनि ओलीले तयारी गरेका छन्।
ओलीको उक्त निर्णयसँगै नेपाल समूहमा संकट उत्पन्न भएको बताइएको छ। नेपाल समूहमा हाल ओलीसँगै मिल्नुपर्ने र अलगै पार्टी बनाउनुपर्ने दुईथरी बिचार व्यक्त भइरहेका छन्। ओलीले जेठ २ गते कायम कमिटीलाई बोलाएमा नेपाल समूह थप कमजोर हुने ओली समूहको विश्लेषण छ।
प्रतिक्रिया