Pura Samachar

लकडाउनमा १०९ बलात्कार

प्रकाशित: June 26, 2020

लकडाउनमा १०९ बलात्कार

लकडाउनको समयमा देशभर १ सय ९ बलात्कारका घटना अभिलेखीकरण भएका छन् । लकडाउनको समयमा ७ सय ३० महिला तथा बालिकामाथि भएका विभिन्न प्रकारका हिंसाको घटना अभिलेखीकरण भएकामध्ये १ सय ९ बलात्कारका घटना रहेका हुन् ।

बलात्कार जस्तो जघन्य अपराधमा संलग्न व्यक्तिहरुमध्ये सबैभन्दा बढी ४७ प्रतिशत (६४ जना) छिमेकी रहेका छन् । महिलापुनस्र्थापना केन्द्रले लकडाउनको करिब तीन महिनाको अवधिमा गरेको अभिलेखीकरणअनुसार आठ सामूहिक बलात्कार र नौ वैवाहिक बलात्कारसम्बन्धी घटनासमेत रहेका छन् । यसैगरी १२ प्रतिशत (१७ जना) परिवारका सदस्य, नौ जना प्रेमी ठानिएको व्यक्ति, तीन घटना सेवाप्रदायक, तीन शिक्षक र ३१ जना अञ्जान व्यक्तिबाट बलात्कारका घट्ना भएको पाइएको केन्द्रले जनायो।

केन्द्रले यही असार ५ गतेसम्म ५७ जिल्लाबाट ७ सय ३० जना महिला तथा बालिकामाथि भएका विभिन्न प्रकारका हिंसाको घटना अभिलेखीकरण गरेको जनाएको छ । जसमध्ये ४ सय २४ घरेलु हिंसा, १ सय ९ बलात्कार, ७४ सामाजिक हिंसा, ३१ आत्महत्या, २७ यौन दुव्र्यवहार, २५ बलात्कारको प्रयास, १६ हत्या, ११ साइबर अपराध, चार हत्या वा आत्महत्या पुष्टि हुन बाँकी, चार हत्याको प्रयास, तीन मानव बेचविखन, दुई आत्महत्याको प्रयाससँग सम्बन्धित घटनाहरु रहेका छन् ।

केन्द्रद्वारा सञ्चालन गरिएको तीन वटा हटलाइन, मनोविमर्शकर्ता, महिला मानवाधिकार रक्षक, साझेदार महिला सामुदायिक सङ्घसंसस्थाबाट यी घटनाहरु अभिलेखीकरण गरिएको केन्द्रको भनाई छ। यीमध्ये ८७ घटना सञ्चारमाध्यमबाट सङ्कलन गरिएका हुन् । समाजमा महिलाप्रति रहेको असमान दृष्टिकोण र व्यवहारको कारण महिलाको शरीर जसले, जसरी र जुन बेला पनि प्रयोग गर्न सक्छ भन्ने गलत सोचका कारण हिंसाका घट्नामा कमी आएन।

बलात्कार जस्तो निकृष्ट मानवाधिकार हनन्का घटनामा पनि पीडित परिवारले घटना दर्ता गर्न सङ्घर्ष गर्नुपर्ने स्थिति रहेको, प्रभावितलाई समाजमा हेर्ने दृष्टिकोण र गरिने व्यवहार पनि अमानवीय र निन्दनीय रहेको ओरेकले जनाएको छ । लकडाउनको यस अवधिमा संस्थासँग आवद्ध मनोविमर्शकर्ताले फोन र सामाजिक दूरी कायम गरी व्यक्तिगत भेटघाटका माध्यमबाट कोभिड–१९ को त्रासका कारण उत्पन्न मनोसामाजिक समस्याबाट प्रभावित ५ सय ६९ र ६ सय ३६ हिंसा प्रभावित÷प्रभावितको परिवारका सदस्य गरी एक हजार २ सय ५ जनालाई मनोसामाजिक परामर्श प्रदान गरिएको छ ।

प्रतिक्रिया