Pura Samachar

पृथ्वी राजमार्गमा दुई सयभन्दा बढी साना-ठूला पहिरा गएका छन्

प्रकाशित: July 4, 2021

पृथ्वी राजमार्गमा दुई सयभन्दा बढी साना-ठूला पहिरा गएका छन्

पृथ्वी राजमार्गमा दुई सयभन्दा बढी साना-ठूला पहिरा गएका छन्।

गत बुधबारदेखि परेको पानीले पहिरो झर्दा ठाउँ-ठाउँमा सडक अवरूद्ध भइरहेको छ भने हजारौं यात्रुले सास्ती पाएका छन्।

पृथ्वी राजमार्गकै बेनीघाट-रोलाङ गाउँपालिका वडा नम्बर १० मा पहिरोले ना ८ ख ४५४० नम्बरको ट्रक पुर्दा शनिबार सहचालक चितवन भण्डाराका वीरबल प्रजाको मृत्यु भयो। अर्का एक घाइते छन्।

पहिरोले ५ सवारी साधनमा क्षति पुगेको थियो। पहिरो र विभिन्न ठाउँमा सडक भासिँदा पृथ्वी राजमार्ग र मुग्लिन-नारायणगढ सडकमा यात्रुले केही दिनयता दु:ख पाएका छन्।

पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङमा सडक भासिएको छ। करिब ३० मिटर लम्बाइ सडक भासिँदा सवारी साधन आवागमनमा समस्या भएको छ।

सडक डिभिजन भरतपुरका अनुसार केही वर्षदेखि फिस्लिङ खण्डको सडक भासिएको थियो। इञ्जिनियर शिव खनालले सडक भासिएकोले त्यहाँ ग्राभेल राख्ने काम आइतबार सुरू गरिएको जानकारी दिए।

‘अहिले माटो, ग्राभेल र ढुंगा राखेर भासिएको सडक मर्मत थालेका छौं,’ उनले भने, ‘फेरि सडक भासियो भने दीर्घकालीन रूपमा नै मर्मत गर्नुपर्ने हुन्छ।’

सडक भासिँदै गएमा पछि मुग्लिन-मलेखु आयोजनाले मर्मत गर्ने उनले बताए।

‘सडकको दबेको भागमा ग्राभेल थप गर्दै तत्काल सडक सुचारू गर्न लागेका हौं,’ उनले भने।

प्रतिक्रिया