Pura Samachar

जब राजा ज्ञानेन्द्रलाई धामी झार्की र वावाजीहरुले लपेटे

प्रकाशित: June 27, 2020

जब राजा ज्ञानेन्द्रलाई धामी झार्की र वावाजीहरुले लपेटे

नेपाललगायत पृथ्वीको सो क्षेत्रमा असार ७ गते आइतवार सूर्य ग्रहण लागेको थियो। यसको फलबारे विभिन्नले विभिन्न थरी भनेका छन्। आज म अहिलेको ग्रहणको सन्देशबारे चर्चा गर्दिन। बरु, यो ग्रहणले मलाई नरायणहिटी राजदरबारमा एउटा पण्डितको हैसियतमा कार्यरत रहँदाका कतिपय यादहरु ताजा गराइदिएको छ।

तीमध्येका केही सम्झनालाई यहाँ पस्किन चाहन्छु जसले गर्दा हाम्रो मुलुकको इतिहास र संस्कृति तथा परम्पराबारे नयाँ पुस्ता एवं राज्य सञ्चालकहरुलाई पनि केही ज्ञान मिल्न सकोस्।

कुरा २०४४ को पौषको हो। सो साल चैत्र कृष्ण आमवाश्यका दिन सूर्य ग्रहण परेको थियो। तर, तत्कालीन बडागुरुज्यूलगायत राजदरबारमा कार्यरत ज्योतिष पण्डितहरुले सो विशेष दिनका बारेमा चारमहिनाअघि नै श्री ५ महाराजाधिराज वीरेन्द्र र रानी ऐश्वर्यलाई जानकारी दिने निर्णय गर्नुभएको थियो।

औंसीको सो सूर्य ग्रहणका बारेमा तत्कालीन वडा गुरुज्यू अम्बिकाप्रसाद अधिकारी, राजज्योतिष दिव्यमङ्गल जोशी, ज्योतिष शिवदास प्रधानांङ्ग र ज्योतिष मंङ्गलराज जोशीले ४ महिनाअघि नै अर्थात् २०४४ पौष कृष्ण नवमीका दिन मौसूफ श्री ५ महाराजधिराज वीरेन्द्रवीर विक्रम शाहलाई पूजाकोठामा शुभ जन्मोत्सव पूजाका लागि सवारी होइबस्क्सँदा तत्कालीन राजज्योतिष दिव्यमङ्गल जोशीले सो ग्रहणको बारेमा विन्ती गर्नु भएको थियो। वृद्ध जोशीपछि कसैले पनि राज ज्योतिषको उपाधि पाएका छैनन्। आफूखुसी लेख्नु छुट्टै कुरा हो।

राजा, राजसंस्था, देश र जनता हैन आफू र आफ्नाको हितमात्र हुने कुरा हेर्ने त्यस्ता व्यक्तिको धारणामा पर्दा आज राजसंस्थाको यो अवस्था आएको हो। आफ्नो र आफ्नाको स्वार्थका लागि नियम फेरि फेरि काम गरिए। दरबारको रितिरिवाज आफ्नो अनुकुल बनाए। नयाँ र अनुभव नभएका राजालाई धुमाए, लुटे र लुट्दैछन्। राजा भजाएर भोट पनि मागे, धर्म पनि बेचे, अझै पनि लुट्न तयार छन्।

तत्कालीन् वडामहारानी स्वः श्री ५ ऐश्वर्य पनि सवारी भएको मौकामा आगामी चैत्रमा लाग्ने सूर्य ग्रहणको बारे शुभ अशुभको फल बताइरहँदा कुप्रो शरीर कापिरहेको बृद्ध ज्योतिष दिव्यमंगललाई तपाईँ बसेर भने पनि हुन्छ। तपाईँहरु उठी रहनु पर्दैन। म सुन्छु, तपाईँ बस्नुहोस् भन्दै तत्कालीन राजाले आदरभाव दर्साइबक्सेको थियो।

दिव्यमङ्गल मेचमा बसेका र राजा रानी उभिएर सुनेको दृश्य मैंले राजदरबारमा देखेको थिएँ। सरल र सहज स्वभावका राजारानी ग्रहण केन्द्रित जाहेरीमा पूजाकोठामा सवारी भै ग्रहणको दान भएको थियो। तत्कालीन मूल पुरोहित रमेशप्रसाद पाण्डेले ल्याउनु भएको ब्राह्मणलाई दरबारको नियमअनुसार तामाको भाडामा रहेको तिल, पहेँलो कपडा, सुन दानगरी बक्सेको थियो। मेरो मानसपटलमा अन्य पनि ग्रहणको याद आउँछ।

५३ साल फागुन कृष्ण औँशीका दिन सूर्यग्रस्त भएर उदाएको थियो। त्यस दिन पनि श्री ५ वीरेन्द्र सवारी भै ग्रहणको दान पूजा गरिवक्सेको थियो। ६२ साल आश्विन कृष्ण र बैशाख कृष्ण पक्षमा परेको सूर्य ग्रहणको पूजा र दानकर्म श्री ५ महाराजधिराज ज्ञानेन्द्रवीर विक्रम शाहदेवबाट गरिबक्सेको थियो।

आश्विन कृष्णपक्षमा परेको सूर्य ग्रहणमा म काठमाडौंमा थिइनँ। सदाझैँ गोरखा दरबारको दशैँ घरको व्रत, पूजा सञ्चालन गर्न म गोरखा दरबार गइसकेको थिएँ। त्यसबेला नारायणहिटीमा के के भयो मलाइ थाहा भएन। तर, चैत्रमा परेको सूर्य ग्रहणमा दरबारको पूजा कोठामा नै हवन, पूजा, दान भएको थियो। त्यस समयको ज्योतिष शिवदास प्रधानाङ्गका छोरा र दिव्य मङ्गलका छोराहरु हुनुहुन्थ्यो।

राजा आफैँ विषय विज्ञ होइन। जे कुरा मौसुफमा जाहेर हुन्थ्यो त्यो सम्बन्धित विषय विज्ञको सल्लाह र सुझाबमा नै गरिन्थ्यो। मैले देखेका राजाहरु विषय विज्ञको नै अनुसरण गरी बक्सन्थ्यो। तर, कहिलेकाही त्यो पनि विष हुँदो रहेछ। निरीह राजा श्री ५ ज्ञानेन्द्रलाई कहिले झाँक्रीले त कहिले तान्त्रिकले, कहिले बाहिरका ज्योतिष सिद्धबाबाहरुको कमाउ धन्दा बनाइयो। सल्लाहकारले आफ्ना नजिकालाई योग्य बनाइदिने।

राजा, राजसंस्था, देश र जनता हैन आफू र आफ्नाको हितमात्र हुने कुरा हेर्ने त्यस्ता व्यक्तिको धारणामा पर्दा आज राजसंस्थाको यो अवस्था आएको हो। आफ्नो र आफ्नाको स्वार्थका लागि नियम फेरि फेरि काम गरिए। दरबारको रितिरिवाज आफ्नो अनुकुल बनाए। नयाँ र अनुभव नभएका राजालाई धुमाए, लुटे र लुट्दैछन्। राजा भजाएर भोट पनि मागे, धर्म पनि बेचे, अझै पनि लुट्न तयार छन्। सत्य सत्य नै हुन्छ।

ढिलो होला दैवको घरमा देर हुन्छ तर अन्धेर हुँदैन भन्छन्। जतिसुकै विज्ञको सल्लाहमा चले पनि धामी झार्की र वावाजीहरुले लपेटे पनि राजा आफ्नै विज्ञ भएर भाइरसको औषधिबारेमा बोल्दैनथे। देश र जनताको हित बेगर अरु कुरा थिएन। आज हेर्दै जाउँ न राजाले कति लुटेका रहेछन् र आजका जननेताले के गरेरका छन् भन्ने कुरा। मुलुकको स्वाधिनता, स्वाभिमान गुमाउनुभन्दा नेपाली भएरै बाँच्ने अठोट गरेका राजा ज्ञानेन्द्र र गन्हाएका गणतन्त्रका नेताको अहिलेको स्थितिले प्रष्ट पारेकै छ। यसपटककोे ग्रहण पनि देशको र नेतालाई हितकारक छैन। परिणाम आउँदै गर्ला।

प्रतिक्रिया