Pura Samachar

सर्लाही जिल्ला घुमुवा प्रहरीरहित जिल्ला घाेषणा

प्रकाशित: November 7, 2021

सर्लाही जिल्ला घुमुवा प्रहरीरहित जिल्ला घाेषणा

सर्लाही । प्रहरीले सर्लाही जिल्लालाई घुमुवा प्रहरीरहित जिल्ला पनि बनाएको छ । घुमुवा प्रहरीले जिम्मेवारीअनुसारको काम नगरेर सङ्गठनकै बदनाम गर्न थालेकाले आपराधिक गतिविधि र अन्य घटनाको सूचना सङ्कलनका लागि परिचालित  यस्ता घुमुवा प्रहरी हटाइएको प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभयो ।

उहाँका अनुसार अनौपचारिक पोशाकमा कार्यरत   प्रहरीले आचारण विपरीत काम गर्दै सङ्गठनकै बदनाम गराउन थालेकाले हटाइएको हो ।

“जिल्लाबाट मातहतका युनिटमा खटाइएका चार यस्ता प्रहरीले सूचना दिनेभन्दा बढी बदनाम गर्ने काम गरे, म आएपछि उनीहरुलाई हटाइसकेको छु”। उहाँले भन्नुभयोे,“अब कुनै घटना भए घटनाको प्रकृतिअनुसार जिल्ला र मातहतका युनिटबाटै विशेष प्रहरी टोली परिचालन हुनेछ ।”

स्थानीयवासी, तालुक कार्यालय, सञ्चारकर्मीलगायतबाटै सूचना लिएर शान्ति सुरक्षा कायम गर्दै आपराधिक गतिविधि नियन्त्रणका लागि काम गर्ने योजना बनाइएको उपरीक्षक प्रसाइँले बताउनुभयो । उहाँकाअनुसार यसअघि अनौपचारिकरूपमा खटाइएका प्रहरीलाई पोशाक लगाएरै नियमित डिउटीमा लगाइसकिएको छ ।

प्रहरी उपरीक्षक प्रसाइँ जिल्ला प्रहरी कार्यालय सर्लाहीमा हाजिर भए लगत्तैदेखि जिल्लामा रहेका घुमुवा प्रहरी हटाउने तयारीमा रहनुभएको थियो । उहाँले प्रहरी सङ्गठनभित्रका कमी कमजोरीलाई सुधार गर्दै आम नागरिकले न्याय र शान्ति सुरक्षाको महसुस गर्नेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

यसअघि प्रहरी नायब उपरीक्षक हुँदा पनि सर्लाहीमा एक कार्यकाल बसिसक्नु भएका प्रहरी उपरीक्षक प्रसाईंबाट सर्लाहीवासीले शान्ति, सुरक्षा र अमनचयनको अपेक्षा गरेका छन् । सिमानाकाका पोष्ट कमाउनका लागि मात्र होइन सेवा पनि  गर्नुपर्छ भन्ने मनसाय बनाउन पनि उहाँले आफ्नो माताहतका प्रहरी कर्माचारीलाई आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया