
चितवन । चितवन राष्ट्रिय निकुञ्जले कुसुमखोला आगलागी प्रकरणका सन्दर्भमा एक वक्तव्य जारी गर्दै दोहोरो अतिक्रमण गरेकाहरुको छाप्रो हटाउने प्रयास गरेकोमा अतिरञ्जित प्रचार भएको टिप्पणी गरेको छ ।
माडी नगरपालिकाले स्थानान्तरण गरिसकेका चेपाङ परिवारहरु पुनः कुसुमखोलामै फर्किएर छाप्रो बनाई मकैखेती गरेकाले वन अतिक्रमण गरी बनाइएका ११ वटा छाप्रोहरु हटाइएको निकुञ्ज प्रशासनको भनाई छ ।
सो क्रममा कुनै धनमाल वा मान्छे बस्ने घर आगजनी नगरिएको जिकीर गर्दै निकुञ्जले आगलागी भएको काल्पनिक तस्बिर राखी प्रचार गरिएको आरोप लगाएको छ । निकुञ्जले संधै मानव अधिकारको सम्मान गर्ने तथा वनसम्पदाको संरक्षण गर्दा मानव समुदायलाई खलल पार्ने कुनै काम नगर्ने पनि निकुञ्जको भनाई छ ।
यसअघि, निकुञ्ज प्रशासनले गत श्रावण ३ गते माडीको कुसुमखोलामा २ वटा घरमा आगलागी गरेको र हात्ती लगाई ८ वटा घरहरु भत्काएको थियो ।
प्रतिक्रिया