
रौतहट । गएराति सवारी दुर्घटनामा मृत्यु हुनेहरुकाे परिवारजनले शव बुझेका छन् । मृतकका परिवारजनले शव बुझेर आफ्नाे देश भारत लगेका छन् ।
रौतहटको यमुनामाई गाउँपालिकाको झुन्खुनवा चोक नजिक शनिवार राति कार दुर्घटना हुदाँ चार जना भारतीय नागरिकको मृत्यु भएको थियाे ।
दुर्घटनामा परि मृत्यु हुनेमा भारत विहार राज्यको पूर्वी चम्पारण जिल्लाको पताही थाना वेतौना घर भएका २५ वर्षीय दिनानाथ साह, ३० वर्षीय अरुण साह, २८ वर्षीय दिलिप महतो र २७ वर्षीय अमित महतो रहेकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्त प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमरियाले बताउनुभयाे ।
मृतकहरुको यथार्थ पहिचानका लागि भारतीय प्रहरीलाई तस्वीरसहितको म्यासेज पत्राचार गरिएपछि आज बिहान परिवारजन आएपछि सनाखत भएको हाे ।
गौर चन्द्रपुर सडककाे यमुनामाई गाउँपालिका स्थित झुन्खुनवा चोकमा अवस्थित पेट्रोल पम्प भन्दा २ सय मिटर उत्तरतर्फ सदरमुकामतर्फ आउँदै गरेका युके १२ सि २९०० नम्वरको भारतीय नम्वरको स्वीफ्ट कार अनियन्त्रित भई दुर्घटना भएकाे थियाे । दुर्घटना हुदाँ घटनास्थलमै गाडीका चालकसहित ४ जनाकाे मृत्यु भएकाे हाे ।
मदिरा सेवन गरेर अत्याधिक गतिमा गुडिरहेको कार अनियन्त्रित भई पल्टिदा सडकभन्दा २० मिटर छेउमै रहेको पोखरीमा कार डुबेपछि बम नहरमा सुरक्षा चेकजाँचमा रहेका सुरक्षाकर्मीहरु तत्काल घटनास्थलमा पुगेका थिए । सुरक्षाकर्मी घटनास्थलमा पुग्दाँ समेत कारमा रहेका व्यक्तिहरुलाई बचाउन असफल रहे । प्रहरीले दुर्घटनाग्रस्त कारको अगाडीको सिसा फुटाएर निकालेका थिए । तर चारै जनाको घटनास्थलमा मृत्यु भएको प्रहरीले पुष्टि गरेका थिए ।
मृतक रौतहटको भेडियाहीमा दिदीकाे ससुराली घरमा छठको प्रसाद पुर्याउन आएका नरेशसँग उनका आफन्तहरुलाई रातिको समयमा रोक्ने निकै प्रयास गरेपनि उनीहरु नमानी निस्केकाे बताइएकाे छ ।
बमनहरमा खटिएका सुरक्षाकर्मीहरुले चेकजाँचका लागि गाडी राेक्न खाेजे पनि चालकले गाडी नराेकेकाे प्रहरीकाे भनाइ छ ।
दुर्घटनाग्रस्त भएको कारलाई गहिरो पानीबाट राति नै प्रहरीले क्रेनको सहाराबाट निकालिएकाे थियाे । अत्याधिक मदिरा सेवन गरेर गाडी चलाएको अवस्थामा कार अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीकाे अनुसन्धानले देखाएकाे छ ।
प्रतिक्रिया