Pura Samachar

एक सय वटा भोटिङ मेशिनको व्यवस्था

प्रकाशित: November 24, 2021
पूरा समाचार

एक सय वटा भोटिङ मेशिनको व्यवस्था

नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनमा निर्वाचनको लागि तयारी पूरा भएको छ । नेकपा एमाले केन्द्रीय कार्यालयस्थित आयोगको कार्यालयले आन्तरिक तयारी पूरा गरेको जानकारी गराएको हो । आयोगले बिहीबारदेखि निर्वाचन प्रक्रियाका लागि चितवनको सौराहामा कार्यालय सञ्चालन गर्ने छ ।

नेकपा एमालेको ऐतिहासिक अधिवेशनको उद्घाटन समारोह मङ्सिर १० गते चितवनको नारायणी किनारमा हुँदैछ । महाधिवेशनको बन्दसत्र सौराहाको सेभेन स्टार होटलमा मङ्सिर ११ गते गरिने कार्यक्रम तय भएको छ । आयोगले त्यहीँबाट निर्वाचन कार्यक्रम सञ्चालन गर्नेछ ।

केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बा रहेको १५ सदस्यीय कमिटीले मङ्सिर ११ गते उम्मेदवारी दर्ता गर्ने कार्यक्रम बनाएको छ । उक्त दिन उम्मेदवारी फिर्ता लिने कार्यतालिका बनाएको छ भने ११ गते बेलुकी ६ बजे अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ । मङ्सिर १२ गते मतदान प्रक्रिया हुने छ ।

एक सय वटा भोटिङ मेशिनको व्यवस्था

एकसय वटा विद्युतीय मतदान मेशिन (इलेक्ट्रोनिक भोटिङ मेशिन) बाट मतदान गराउने योजना निर्वाचन आयोगको छ । आयोगले ९२ वटा मेशिनहरू निर्वाचनका लागि प्रयोग गर्ने छ । तीन वटा मेशिन नमुना मतदानका लागि आयोगको कार्यालय अगाडि खुला रूपमा राखिने छ । ती मेशिनहरू मतदान कसरी गर्ने सिक्नका लागि राखिने छ । पाँच वटा मेशिनहरू जगेडामा राखिने छ । मतदानका क्रममा कुनै मेशिनमा गडबडी आएमा जगेडाका मेशिनहरू प्रयोग गरिने छ ।

एक जना प्रतिनिधिलाई मतदान गर्न सरदर आधा घण्टा लाग्ने अनुमान छ । एउटा मेशिनमा करिब २२ जनादेखि ३० जनाले मतदान गर्ने छन् । मतदान सकिएको करिब दुई घण्टाभित्र नतिजासमेत आउने गरी मतगणनाको व्यवस्था गरिने छ । प्रत्येक मेशिनबाट अलग अलग मतगणना गर्ने भएको हुँदा त्यति समय लाग्ने आयोगको भनाई छ । आपसी सञ्जालमा जोडिएको खण्डमा त्यो भन्दा चाँडो नतिजा आउन सक्छ ।

प्रतिक्रिया